Back to Languages

Nepali - Chapter 3 - Al-Imran

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 1 — Surah Al-Imran 3:1

अलिफ्–लाम–मीम

Verse 2 — Surah Al-Imran 3:2

अल्लाह, नै वास्तविक सत्य पूजनीय हो, उस बाहेक अरु कोही पज्य छैन, जो सधैं रहिरहने र सबैको रक्षक हो ।

Verse 3 — Surah Al-Imran 3:3

उसले (हे मुहम्मद) तपाईमाथि सत्यताको साथ ग्रन्थ (कुरआन) उतार्यो, जसले कि आफूभन्दा पहिलाका (किताबहरूको) पुष्टि गर्दछ र उसैले तौरात र इञ्जील उतार्यो ।

Verse 4 — Surah Al-Imran 3:4

यसभन्दा पहिला मानिसहरूको मार्गदर्शनको निम्ति पहिला (तौरात र इञ्जील) र पछि कुरआन पनि उसैले उतार्यो । जुन मानिसहरू अल्लाहका आयतहरू झूठो ठान्दछन्, तिनलाई कठोर सजाय हुनेछ । अल्लाह सर्वशक्तिमान र बदला लिनेवाला छ ।

Verse 5 — Surah Al-Imran 3:5

निःसन्देह अल्लाहबाट पृथ्वी र आकाशको कुनै वस्तु लुकेको छैन ।

Verse 6 — Surah Al-Imran 3:6

उसले आमाको गर्भमा जस्तो चाहन्छ तिम्रा रूपहरू बनाउँछ । ऊ सर्वशक्तिमान र बुद्धिमता सम्पन्न छ, उस बाहेक वास्तवमा अरु कोहि पूजा योग्य छैन ।

Verse 7 — Surah Al-Imran 3:7

अल्लाहले नै तिमीलाई किताब प्रदान गर्यो, जसका केही आधारभूत आयतहरू छन्, त्यही वास्तविक किताब हो र केही सामान्य प्रकृतिका छन् । अनि जसको हृदयमा कुटिलता हुन्छ तिनले फसाद गर्ने मनसाय र गलत व्याख्याको नीयतले यिनै सामान्य आयातका पछाडि लागि पर्दछन् । तर यसको वास्तविक अर्थ अल्लाह बाहेक अरु कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन्, तिनीहरू भन्दछन् कि हामीले उनीमाथि आस्था राखीसकेका छौं । यी सबै हाम्रा पालनकर्ताबाट हुन्, नसीहत (उपदेश) त बुझ्नेले मात्र ग्रहण गर्दछन् ।

Verse 8 — Surah Al-Imran 3:8

हे हाम्रा रब (प्रतिपालक) ! तिमीले हामीलाई सही मार्ग निर्देशन प्रदान गरिसके पछि त्यस उपरान्त हाम्रो हृदयमा विकृति उत्पन्न नगर । र हामीलाई आफूकहाँबाट कृपा प्रदान गर, निःसन्देह तिमी नै परम् दानी हौ ।

Verse 9 — Surah Al-Imran 3:9

हे पालनकर्ता ! तिमीले निःसन्देह त्यसदिन जसको आगमनमा कुनै शंका छैन, सबै मानिसहरूलाई भेला गराउने छौ । निःसन्देह अल्लाह आफ्नो वाचा विपरीत गर्दैन ।

Verse 10 — Surah Al-Imran 3:10

काफिरहरूलाई तिनको धन सम्पत्ति र तिनका सन्तानले अल्लाहको (सजायबाट) तिनलाई बचाउन सक्दैनन् । र यी मानिसहरू नै नर्कको आगोका इन्धन हुनेछन् ।

Verse 11 — Surah Al-Imran 3:11

यिनको अवस्था पनि आले फिरऔन र तिनीभन्दा अगाडिका मानिसहरू जस्तो हुनेछ, जसले हाम्रा आयातहरूलाई झूठ ठाने, अनि अल्लाहले पनि तिनलाई तिनका गुनाहलेगर्दा सजायको निम्ति समातिहाल्यो र अल्लाह कठोर सजाय दिनेवाला छ ।

Verse 12 — Surah Al-Imran 3:12

(हे पैगम्बर !) काफिरहरूलाई भनिदिनुस् कि तिमीहरू छिटै पराजित हुनेछौ र अन्तिम दिन नर्कको बाटोमा जम्मा गरिने छौ, (जुन कि) साह्रै नराम्रो ठाउँ हो ।

Verse 13 — Surah Al-Imran 3:13

तिम्रा निम्ति दुई समूह, जो कि (बद्रको युद्धको दिन) आपसमा संघर्षरत भए (अल्लाहको शक्तिको) प्रतीक थियो । एक समूह थियो, त्यो अल्लाहको मार्गमा युद्धरत थियो, र दोस्रो समूह काफिरहरूको थियो जसले तिनलाई आफ्ना आँखाले आफूभन्दा दोब्बर देखिराखेका थिए । र अल्लाह आफ्नो तर्फबाट जसलाई चाहन्छ सहयोग पुर्याउँछ । निःसन्देह यसमा आँखा भएकाहरूका लागि ठूलो पाठ छ ।

Verse 14 — Surah Al-Imran 3:14

मानिसहरूमा तिनलाई मनपर्ने चीजहरूको माया समाविष्ट गराइयो अर्थात् स्वास्नीहरू, छोराहरू र सुनचाँदीको खर खजाना र शान्दार घोडाहरू, र पशुहरू र खेतीपाती यी संसारिक जिन्दगीका सरसामान हुन, र राम्रो फर्कने ठाउँ त अल्लाहकहाँ नै छ ।

Verse 15 — Surah Al-Imran 3:15

(हे पैगम्बर ! तिनीहरूसित) भनिदिनुस् कि के म तिमीलाई यस्तो कुरा बताउँ जुन यी कुराहरूभन्दा धेरै राम्रो छ ? धर्मपरायण मानिसहरूका निम्ति अल्लाहकहाँ स्वर्ग छ जहाँ बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन् जहाँ तिनीहरू सँधै बस्ने छन्, र पवित्र स्वास्नीहरू छिन् र अल्लाहको प्रसन्नता छ । अल्लाह आफ्ना असल भक्तहरूलाई देखिरहेको छ ।

Verse 16 — Surah Al-Imran 3:16

जो अल्लाहसित विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीले ईमान ल्यायौं, तसर्थ हाम्रा त्रुटिहरू क्षमा गर, र नर्कको यातनाबाट बचाऊ ।

Verse 17 — Surah Al-Imran 3:17

यी यस्ता मानिसहरू हुन् जसले धैर्य राख्दछन् र सत्य बोल्दछन् र आज्ञा पालक हुन् र अल्लाहको मार्गमा सम्पत्ति दान गर्दछन् र प्रातःकालमा आफ्ना भूल त्रुटिका लागि क्षमायाचना गर्दछन् ।

Verse 18 — Surah Al-Imran 3:18

अल्लाह, फरिश्ताहरू र ज्ञानीहरूले यस कुराको गवाही दिन्छन् कि अल्लाह बाहेक अरु कोही सत्य पूजा योग्य छैन । उही न्याय कायम राख्नेवाला हो । यस्तो सर्वशक्तिमान र सर्वबुद्धि सम्पन्न बाहेक अरु कोही आराधना योग्य छैन ।

Verse 19 — Surah Al-Imran 3:19

निःसन्देह अल्लाहको नजिक इस्लाम नै (साँचो) धर्म हो र अह्ले किताबले (किताबवालाहरूले) ज्ञान प्राप्त गरिसकेपछि आपसी रिस–रागको कारण विरोध गरेका हुन् र जुन मानिसले अल्लाहका आयातहरूलाई मानेनन्, अल्लाहले उसको शीघ्र हिसाब लिने छ ।

Verse 20 — Surah Al-Imran 3:20

(हे पैगम्बर !) तै पनि यदि यी मानिसहरू तपाईसँग वादविवाद गर्दछन् भने भनिदिनुस् म र मेरा अनुयायीहरूले सम्पूर्ण रूपमा अल्लाहमा समर्पित भइसकेका छौं र किताबवाला र अनपढहरूसित भनिदिनुस् कि के तिमीहरूले पनि इस्लाम मान्दछौ ? यदि यिनीहरू पनि अनुयायी बन्दछन् भने निःसन्देह मार्गदर्शन प्राप्त गर्नेछन्, र यदि मान्दैनन् भने तपाईको काम मात्र अल्लाहको सन्देश पुर्याइदिने हो । अल्लाह (आफ्ना) भक्तहरूलाई राम्री देखिराखेको छ ।

Verse 21 — Surah Al-Imran 3:21

जुन मानिसहहरू अल्लाहका आयतहरूलाई मान्दैनन् र अल्लाहका संदेशबाहकहरूलाई अनाधिकार मारिदिन्छन् र जसले न्यायका कुरा गर्नेहरूलाई पनि मारिदिन्छन् त हे नबी तिनलाई कष्टपूर्ण सजायको सन्देश सुनाइदिनु ।

Verse 22 — Surah Al-Imran 3:22

यिनी यस्ता मानिसहरू हुन् जसका कर्महरू यस लोक र परलोक दुवैका लागि निरर्थक छन्, र तिनीहरूलाई सहायता गर्ने कोही हुने छैन ।

Verse 23 — Surah Al-Imran 3:23

के तिमीले तिनलाई देखेनौं जसलाई किताब (तौरात) को केही भाग दिइएको छ, र तिनीहरूको आपसी फैसलाको लागि अल्लाहको किताबतिर बोलाइनेछ, तैपनि तिनीहरूमध्ये एउटा समूहले अस्वीकार गरी अर्कैतिर मुख फर्काइहाल्छ ।

Verse 24 — Surah Al-Imran 3:24

यसको कारण तिनीहरूको यो भनाई छ कि (नर्कको) आगोले हामीलाई केही दिन बाहेक बढी पोल्न सक्ने छैन, र यिनको यो मिथ्या कुराले यिनीहरूलाई धर्मको बारेमा भ्रममा राखेको छ ।

Verse 25 — Surah Al-Imran 3:25

अनि, त्यस बेला के अवस्था हुने छ जब हामीले तिनलाई एकत्रित गर्ने छौं ?। जसको आगमनमा कुनै शंका छैन । र प्रत्येक व्यक्तिले गरेको आ–आफ्ना कर्महरूको पूर्ण प्रतिफल पाउने छ र तिनीहरूप्रति केही पनि अत्याचार गरिने छैन ।

Verse 26 — Surah Al-Imran 3:26

तिमी भन कि हे अल्लाह, हे ब्रह्माण्डको स्वामी ! तिमीले जसलाई चाहन्छौ राजसत्ता प्रदान गर्दछौ र जसबाट चाहन्छौ उसको सत्ता खोसिहाल्छौ र जसलाई इच्छा गर्दछौ मर्यादित बनाउँछौ र जसलाई चाहन्छौ उसलाई अपमानित गर्छौ । तिम्रै हातमा प्रत्येक किसिमका भलाई छन् । निःसन्देह तिमी प्रत्येक कुराको लागि सर्वशक्ति सम्पन्न छौं ।

Verse 27 — Surah Al-Imran 3:27

तिमीले नै रातिलाई दिनमा प्रवेश गराउँछौ र दिनलाई रातिमा प्रवेश गराउँदछौ । तिमीले नै निस्प्राणमा प्राण हाल्दछौ र तिमी नै प्राणवानबाट प्राणहीन बनाउँछौ र तिमीले नै जसलाई चाहन्छौ अत्यधिक जीविका प्रदान गर्दछौ ।

Verse 28 — Surah Al-Imran 3:28

मोमिनहरूले ईमानवाला बाहेक अनास्थावानहरूलाई मित्र बनाउनु हुँदैन । र कसैले यस्तो गर्दछ भने त्यसको अल्लाहसँग कुनै सम्बन्ध हुँदैन र त्यस अवस्था बाहेक जब कि तिमीले आफूलाई त्यस नोक्सानबाट बचाउन चाहन्छौ । र अल्लाहले तिमीलाई आफ्नो डर देखाइरहेछ र अल्लाहतिरै नै फर्केर जानु छ ।

Verse 29 — Surah Al-Imran 3:29

(हे पैगम्बर !) भनिदिनुस् ! कि तिमीले कुनै कुरा आफ्नो छातीभित्र लुकाई राख वा प्रकट गर, अल्लाहलाई थाहा छ । जे आकाश र पृथ्वीमा छ, सबैको बारेमा उसलाई थाहा छ । र हरेक कुरा अल्लाहको अधीनमा छ ।

Verse 30 — Surah Al-Imran 3:30

जुनदिन प्रत्येक व्यक्ति आफ्ना सत्कर्मको र आफ्नो दुष्कर्मको फल आफ्नो अगाडि पाउनेछ । तब उसले कामना गर्नेछ, कि उसको र उसका पाप कर्महरूको दूरी धेरै भइदिए हुन्थ्यो । अल्लाह तिमीलाई आफ्नो डर देखाइरहेको छ र अल्लाह आफ्ना भक्तहरूप्रति अत्यन्त दयालु छ ।

Verse 31 — Surah Al-Imran 3:31

(हे पैगम्बर ! मानिसहरूसित) भनिदिनुस् कि यदि तिमी अल्लाहलाई प्रेम गर्दछौ भने मेरो अनुशरण गर, अल्लाहले तिमीलाई प्रेम गर्नेछ र तिम्रा पापहरूलाई क्षमा गरिदिनेछ र अल्लाह अत्यन्त क्षमादान गर्ने दयालु छ ।

Verse 32 — Surah Al-Imran 3:32

भनिदिनु ! कि अल्लाह र रसलको आदेश पालन गर । यदि मान्दैनन् भने अल्लाहले पनि काफिरहरूलाई प्रेम गर्दैन ।

Verse 33 — Surah Al-Imran 3:33

निःसंदेह अल्लाहले आदम (अलै.), नूह (अलै.), इब्राहीम(अलै.)को वंश र इम्रानको वंशलाई सम्पूर्ण संसारका मानिसहरूमध्येबाट रोजी सक्यो ।

Verse 34 — Surah Al-Imran 3:34

तिनी आपसमा एक अर्काको वंशबाट छन् । र अल्लाह सुन्दछ र जान्दछ ।

Verse 35 — Surah Al-Imran 3:35

(स्मरणीय छ) जब इम्रानको स्वास्नीले भनिन् कि हे पालनकर्ता ! जुन (शिशु) मेरो गर्भमा छ, त्यसलाई म तिम्रो नाममा आजाद (स्वतन्त्र) गर्दछु । त्यसलाई तिमी मेरो तर्फबाट स्वीकार गर । निश्चयनै तिमी सबै सुन्ने (र) सबै जान्नेवाला हौ ।

Verse 36 — Surah Al-Imran 3:36

जब तिनले छोरी जन्माइन, त तिनले भन्न थालिन कि हे पालनकर्ता ! मैले त छोरी पाएकी छु । र जे जन्मएको थियो, त्यो अल्लाहलाई थाहा नै छ । र छोरी छोरा जस्तो हुन सक्दैनथ्योे । मैले उसको नाम मरियम राखेको छु र मैले उसलाई र उसको सन्तानलाई तिरस्कृत शैतानबाट मुक्त राख्न् तिम्रो शरणमा दिन्छु ।

Verse 37 — Surah Al-Imran 3:37

त पालनहारले त्यसलाई सहर्ष स्वीकार गर्याे र त्यसलाई राम्री हेर चाह प्रदान गर्यो र जकरीयालाई उसको हेरचाह गर्नेवाला बनायो । जकरीया (अलै.) जतिखेर पनि उसको कोठाभित्र जान्थे, पासमा खाना पाउँदथे । उनले मरियमसँग सोध्ने गर्दथे कि मरियम ! यो खाना तिम्रो पासमा कहाँबाट आउँछ ? उनी भन्थिन कि अल्लाहकहाँबाट आउँछ । निःसन्देह जसलाई अल्लाह चाहन्छ प्रशस्त रोजी (जीविका) प्रदान गर्दछ ।

Verse 38 — Surah Al-Imran 3:38

यसैबेला जकरीयाले आफ्ना पालनकर्तासित प्रार्थना गरे, कि हे मेरो पालनकर्ता ! मलाई आफ्नोतर्फबाट पवित्र पुत्र प्रदान गर । निःसन्देह तिमी प्रार्थना सुन्नेवाला हौ ।

Verse 39 — Surah Al-Imran 3:39

उनी अझै कोठामा उभिई नमाज पढिराखेका थिए कि कोठामा यत्तिकैमा फरिश्ताहरूले उहाँलाई आवाज दिए कि (जकरिया !) अल्लाहले तिमीलाई यहयाको निश्चित शुभसन्देश दिन्छ, जसले कि अल्लाहको वचनलाई प्रमाणित गर्नेछ र नायक हुनेछ र लिप्सामुक्त अल्लाहको नबी अनि सत्य निष्ठावान मानिस हुनेछ ।

Verse 40 — Surah Al-Imran 3:40

जकरीयाले भनेः, हे पालनकर्ता ! मलाई पुत्रप्राप्ति कसरी हुन्छ जब कि म धेरै बुढो भइसकेको छु र मेरो स्वास्नी बाँझो छिन् । अल्लाहको आदेश भयो, यस्तै प्रकारले, अल्लाहले जे चाहदछ गर्दछ ।

Verse 41 — Surah Al-Imran 3:41

जकरीयाले भने, परवरदिगार (पालनकर्ता) ! (मेरो लागि) उसको कुनै निशानी निर्धारित गर । अल्लाहले भन्यो, निशानी यो हो कि तिमी मानिसहरूसित तीन दिनसम्म संकेत बाहेक कुरा नगर्नु । (ती दिनहरूमा) तिमी बढीभन्दा बढी आफ्नो पालनकर्ताको स्मरण गर्नु र बिहान बेलुका उसैको नाम लिनेगर ।

Verse 42 — Surah Al-Imran 3:42

र जब दूतहरूले (मरियमसित) भने कि मरियम अल्लाहले तिमीलाई रोजेको छ र पवित्र बनाएको छ र संसारका सबै नारीहरूमध्येबाट तिमीलाई रोजेको छ ।

Verse 43 — Surah Al-Imran 3:43

हे मरियम ! तिमीले आफ्नो परवरदिगारको आदेश पालना गर्नु र ढोग गर्नु र रुकूअ् गर्नेहरूसँग रुकूअ् गरिराख्नु ।

Verse 44 — Surah Al-Imran 3:44

यी कुराहरू अदृश्यमा भएका समाचारहरूमध्येका हुन्, जसलाई हामीले तिम्रो छेउमा वह्य (कुरआनका आयात)को माध्यमबाट पठाउँछौ र तिमी उनीहरूबीच थिएनौ जब तिनीहरूले आफ्ना कलमहरू हालिराखेका थिए कि मरियमलाई कसले पाल्नेछ ? र त्यस बेला पनि तिनीहरूबीच थिएनौ, जबकि तिनीहरू आपसमा झगडा गरिराखेका थिए ।

Verse 45 — Surah Al-Imran 3:45

जब फरिश्ताहरूले भने कि मरियम ! अल्लाहले तिमीलाई आफ्नो एउटा शब्दद्वारा (पुत्रको) शुभसमाचार दिन्छ, जसको नाम मसीह (प्रख्यात) ईसा बिन मरियम हुनेछ । संसार र आखिरतमा मर्यादित र मेरो विशिष्टहरूमध्ये एउटा हुनेछ ।

Verse 46 — Surah Al-Imran 3:46

उसले आमाको काँखमा हुर्केको अवस्थामा र ठूलो भएपछि दुवै अवस्थाहरूमा मानिसहरूसित कुरा गर्नेछ र ऊ सदाचारीहरूमध्येबाट हुनेछ ।

Verse 47 — Surah Al-Imran 3:47

मरियमले भनिन् हे पालनहारः मलाई पुत्रप्राप्ति कसरी हुन्छ जब कि कुनै मनुष्यले मलाई स्पर्शसम्म पनि गरेको छैन । फरिश्ताले भने कि, अल्लाहले यस्तै जे चाहन्छ पैदा गर्दछ । जब त्यसले कुनै काम गर्न चाहन्छ त त्यसको हुकुम गर्दछ कि भइहाल, अनि त्यो भइहाल्छ ।

Verse 48 — Surah Al-Imran 3:48

अल्लाहले उसलाई लेख्न (पढ्न) र बुद्धि प्रदान गर्नेछ र तौरात र इञ्जील सिकाउने छ ।

Verse 49 — Surah Al-Imran 3:49

र ऊ बनी इस्राईलतिर पैगम्बर भएर जानेछ । (भन्नेछ) कि म तिमीहरू छेउ तिम्रो पालनहारको तर्फबाट निशानी लिएर आएको छु । त्यो के भने तिम्रो अगाडि माटोको पंक्षीको रूपका आकार बनाउँछु । फेरि त्यसमा फुक्छु त त्यो अल्लाहको आदेशले (साँच्चै) पंक्षी भइहाल्छ । र अल्लाहको आदेशले म जन्मैदेखिको अन्धो र महारोगीलाई स्वस्थ्य पारिदिन्छु र मुर्दामा प्राण हालिदिन्छु र जे जति तिमी खान्छौ र जेजति आफ्ना घरहरूमा थुपारेर राखेका छौ, सबै तिमीलाई बताइदिन्छु । यदि तिमी ईमान ल्याएको भए यी कुराहरूमा तिम्रा निम्ति अल्लाहको सामथ्र्यको निशानी छ ।

Verse 50 — Surah Al-Imran 3:50

र म त्यसलाई पुष्टि गर्दछु जुन मेरो अगाडि तौरात छ र यस कारणले पनि म आएको छु कि केही कुराहरू जुन कि तिम्रो निम्ति वर्जित थिए, तिनलाई ग्राह्य (हलाल) बनाइदिऊँ र म त तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि निशानी लिएर आएको छु । यसर्थ तिमी अल्लाहसित डर मान र मैले भनेको मान ।

Verse 51 — Surah Al-Imran 3:51

निःसन्देह अल्लाह नै मेरो र तिम्रो पालनहार हो, त्यसैले तिमी सबै उसैको उपासना गर । यही नै सत्य मार्ग हो ।

Verse 52 — Surah Al-Imran 3:52

तर जब ईसाले उनीहरूको अनास्था सूचक नियतको अनुभव गर्नुभयो त भन्न थाले कि अल्लाहको मार्गमा मेरो सहायता गर्ने को–को छन् ? हवारीहरूले जवाफ दिए कि हामी अल्लाहको मार्गको पक्षधर हौं । हामी अल्लाहमाथि आस्था राख्यौं र तपाई साक्षी हुनु कि हामी आदेश पालना गर्नेवाला हौ ।

Verse 53 — Surah Al-Imran 3:53

हे हाम्रो पालनकर्ता पूजनीय ! हामीले तिमीले अवतरित गरेको किताबमाथि पूर्ण विश्वास गर्दछौ र तिम्रो पैगम्बरका अनुयायी बनिसकेका छौं । तसर्थ हामीलाई साक्षीदिनेहरूमा लेखिहाल ।

Verse 54 — Surah Al-Imran 3:54

तिनीहरले षडयन्त्रपर्ण योजना बनाए, र अल्लाहले पनि त्यसबाट बचाउने योजना बनायो, र अल्लाह सबैभन्दा राम्रो योजनाकार हो ।

Verse 55 — Surah Al-Imran 3:55

जब अल्लाहबाट आदेश भयो कि ईसा । मैले तिम्रो संसारमा रहने अवधि परा गरी तिमीलाई आफतिर उठाउने र तिमीलाई काफिरहरबाट पवित्र गर्नेछु । र, तिम्रो अनुशरण गर्नेहरलाई काफिरहर भन्दा शक्तिशाली बनाउने छु कयामतको दिन सम्म, अनि तिमी सबै म छेउ फर्केर आउनेछौ, त जुन कुरामा तिमीहर विवाद गर्दथ्यौ, त्यस दिन त्यसको निर्णय मैले नै गर्नेछु ।

Verse 56 — Surah Al-Imran 3:56

फेरि अनास्थावानहरलाई संसार र आखिरत दुवैमा कठोर सजाय दिनेछु र तिनको कोही सहायक हुँदैन ।

Verse 57 — Surah Al-Imran 3:57

र जसले ईमान ल्याएर सत्कर्म गरिराखे, तिनलाई अल्लाह पूर्णरूपले त्यसको प्रतिफल प्रदान गर्नेछ र अल्लाह अन्याय गर्नेहरूलाई प्रेम गर्दैन ।

Verse 58 — Surah Al-Imran 3:58

(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) यो जुन हामीले तिम्रो सामु पढ़दैछौं आयतहरू हुन् र बुद्धिमतापूर्ण निर्देशनहरू हुन् ।

Verse 59 — Surah Al-Imran 3:59

ईसाको हाल अल्लाह छेउ आदम जस्तै छ जसलाई माटोले तयार गरी आदेश गरे कि भइहाल अनि ऊ (मानव) भइहाल्यो ।

Verse 60 — Surah Al-Imran 3:60

तिम्रो पालनकर्ताबाट सत्य यही नै हो । तसर्थ खबरदार तिमी कहिल्यै शंका गर्नेहरूमध्येको नहुनु ।

Verse 61 — Surah Al-Imran 3:61

यसकारण जुन मानिसले तपाईनिर सत्य कुरा आई गएपछि पनि तपाईसित विवाद गर्छन त तपाईले तिनीसित भन्नु कि आऊ हामी र तिमी आ–आफ्ना छोराहरू र स्त्रीहरूलाई पनि र हामी आफै पनि आऔं, अनि दुवै समूहले प्रर्थाना गरौं र झूठाहरूमाथि अल्लाहको धिक्कार भनौं ।

Verse 62 — Surah Al-Imran 3:62

निश्चय नै यी भनाइहरू नै सत्य हुन् र अल्लाह बाहेक अरु कोही पूजा योग्य छैन । निःसन्देह अल्लाह सामथ्र्यपूर्ण र कौशल सम्पन्न छ ।

Verse 63 — Surah Al-Imran 3:63

तापनि यदि तिनीहरूले स्वीकार गर्दैनन् त अल्लाह पनि उत्पातीहरूलाई राम्ररी जान्दछ ।

Verse 64 — Surah Al-Imran 3:64

भनिदिनुस् कि हे अहले किताब ! यस्तो कुरातर्फ आऊ जुन हाम्रो र तिम्रो बीचमा समान छ । त्यो यो हो कि अल्लाह बाहेक अरु कसैलाई हामी पूजा नगरौं र उससँग अरुको साझेदारी नठहराऔं र अल्लाह बाहेक हामीमध्ये कसैलाई पालनहार नबनाऔ । यदि यिनीहरू मान्दैनन् भने भनिदिनुस् कि ! तिमी साक्षी हौ कि हामी मुसलमान हौं ।

Verse 65 — Surah Al-Imran 3:65

हे अहले किताब ! तिमीहर इब्राहीमको बारेमा आपसमा किन झगडा गर्दछौ, जबकि तौरात र इञ्जील उनीभन्दा पछाडि आएको हो । के तिमी फेरि पनि बुझ्दैनौ ।

Verse 66 — Surah Al-Imran 3:66

हेर, यस्तो कुरामा तिमीहरूले झगडा गरिसक्यौ, जसको बारेमा तिमीलाई ज्ञान थियो, तर फेरि यस्ता कुरामा किन झगडा गर्दछौ जसको सम्बन्धमा तिमीलाई केही पनि ज्ञान छैन । अल्लाहलाई थाहा छ र तिमीलाई थाहा छैन ।

Verse 67 — Surah Al-Imran 3:67

इब्राहीम न त यहूदी थिए न ईसाई बरु सबैबाट अलग एक सच्चा मुसलमान थिए र मुश्रिकहरूमध्येका थिएनन् ।

Verse 68 — Surah Al-Imran 3:68

इब्राहीमसँग सबभन्दा नजिकका सम्बन्ध राख्ने ती मानिसहरू हुन् जो उनका अनुयायी भए र यिनी पैगम्बर (मुहम्मद स.) र ती मानिसहरू जसले कि आस्था राखेका हुन् । अल्लाह नै मोमिनहरूको पक्षधर र सहारा हो ।

Verse 69 — Surah Al-Imran 3:69

(हे इस्लामका अनुयायीहरू !) अहले किताबको एक समूह तिमीलाई असल पथबाट विचलित गराउन चाहन्छन्, तर यिनीहरूले वास्तवमा आफैलाई पथविचलित गरिराखेका छन् तर बुझ्दैनन् ।

Verse 70 — Surah Al-Imran 3:70

हे अहले किताब ! तिमीहरू गवाह भए पनि अल्लाहका आयतहरूलाई किन इन्कार गरिराखेका छौ

Verse 71 — Surah Al-Imran 3:71

हे अहले किताब ! जान्दा जान्दै पनि तिमीले सत्यलाई असत्यसँग किन गुटमुट गरिराखका छौ ? र सत्यलाई किन लुकाउँछौ

Verse 72 — Surah Al-Imran 3:72

र अहले किताबको एउटा समूहले एक अर्कासित भन्यो कि जुन पुस्तक मोमिनहरूको निम्ति उतारिएको हो, त्यसमाथि दिनको प्रारम्भमा विश्वास गर्दैगर साँझ पर्दा इन्कार गर्दैगर, जसलेगर्दा तिनीहरू पनि (इस्लामबाट) विमुख भइहालुन् ।

Verse 73 — Surah Al-Imran 3:73

र आफ्नो धर्मका अनुयायीहरू बाहेक अरु कसैको विश्वास नगर्नु । हे पैगम्बर ! भनिदिनुस् कि पथप्रदर्शन त निःसंदेह अल्लाहको पथप्रदर्शन नै हो । तिनीहरू यो पनि भन्दछन् कि यसमा पनि विश्वास नगर्नु कि जुन कुरो तिमीलाई प्रदान गरिएको हो, त्यस्तो अरु कसैलाई प्रदान गरिन्छ । वा तिनीहरूले तिमीसँग अल्लाहको अगाडि झगडा गर्नेछन् । यो पनि भनिदिनुस् ! कि बुजुर्गि (अनुग्रह) त अल्लाहको हातमा छ । उसले जसलाई चाहन्छ, प्रदान गर्दछ र अल्लाह सर्वव्यापी (र) सर्वज्ञ छ ।

Verse 74 — Surah Al-Imran 3:74

उसले आफ्नो कृपाबाट जसलाई चाहन्छ विशिष्ट स्थान प्रदान गर्दछ र अल्लाह ठूलो कृपाको स्वामी हो ।

Verse 75 — Surah Al-Imran 3:75

‘‘अहले किताब’’ मध्ये केही त यस्ता छन् कि यदि तिमीले उनलाई प्रशस्त धनराशी नासो स्वरूपमा राख्न दिन्छौ भने उनले तिमीलाई त्यो फिर्ता गरिदिन्छन् र केही यस्ता छन् कि उनीलाई एक दिनार पनि नासो राख्न दिन्छौ भने फिर्ता गर्दैनन् जबसम्म तिमीले उनको टाउकोमै बसी फिर्ता गर्न आग्रह गर्दैनौ । यो यसकारणले कि तिनीहरूले भन्दछन् कि अनपढ़हरूको सम्बन्धमा हाम्रो कुनै सोधपूछ हुनेछैन । यिनीहरूले जान्दा जान्दै अल्लाहको (विरोधमा) झूठा कुरा गर्दछन् ।

Verse 76 — Surah Al-Imran 3:76

हो, जुन मानिसले आफूले गरेको करार पूरा गर्दछ र अल्लाहसँग डराउँछ भने, अवश्य अल्लाह ईमानदारहरूसित प्रेम गर्दछ ।

Verse 77 — Surah Al-Imran 3:77

निःसन्देह जुन मानिसहरूले अल्लाहसँगको आफ्नो प्रतिज्ञा र शपथ सस्तो मोलमा बेच्दछन् त्यस्ताको लागि अन्तिम दिनमा कुनै भाग हुँदैन । अल्लाह तिनीहरूसित न त कुरो गर्नेछ न त कियामतका दिन तिनीहरूतिर हेर्नेछ र न त तिनलाई पवित्र पार्नेछ र तिनलाई कष्टदायक सजाय हुनेछ ।

Verse 78 — Surah Al-Imran 3:78

विश्वास गर यिनीहरूमध्ये एउटा समूह यस्तो पनि छ जसले कि किताब पढदा आफ्नो जिब्रो बटारेर पढ्छ, ताकि तिमीलाई आभास होस् कि यिनीहरूले उतारिएको किताब पढी रहेका छन्, तर वास्तवमा त्यो किताबबाट हुँदैन, र भन्ने गर्दछन् कि त्यो अल्लाहबाट उतारिएको हो तर त्यो अल्लाहबाट उतारिएको हैन, र तिनीहरूले अल्लाहको विरोधमा जानाजानी असत्य बोल्दछन् ।

Verse 79 — Surah Al-Imran 3:79

कुनै यस्तो मानिस जसलाई कि अल्लाहले किताब, तत्वज्ञान र ‘‘नबूवत’’ (दूतत्व) प्रदान गरेको छ यो ठिक होइन कि उसले मानिसहरूलाई भनोस् कि अल्लाहलाई छोडेर मेरो भक्त भइहाल बरु (उसले के भन्ने छ कि) तिमी सबै अल्लाहको भइहाल, यस कारण कि तिमीले उनीहरूलाई किताब सिकाउने गर्छौ र पढाउने गर्छौ ।

Verse 80 — Surah Al-Imran 3:80

र कदापि हुन सक्दैन कि उसले फरिश्ता र पैगम्बरहरूलाई पूज्य बनाउने आदेश देओस् । के तिमी ‘‘मुसलमान’’ भइसकेपछि पनि उसले तिमीलाई काफिर हुन आदेश दिनेछ

Verse 81 — Surah Al-Imran 3:81

जब अल्लाहले पैगम्बरहरूसँग वाचा गरायो कि जे जति मैले तिमीलाई किताब र ज्ञान प्रदान गर्दछु, अनि तिम्रो नजिकमा कुनै पैगम्बर आउँछ जसले तिम्रो किताबको पुष्टि गर्दछ त तिमीले अवश्य नै त्यसमाथि विश्वास गर्नुपर्दछ र उसको मद्दत गर्नुपर्ने छ । (वाचा लिएपछि) सोध्यो, के तिमीले वचन दियौ र यस वचनबद्धतामा मलाई संरक्षणको रूपमा ठहरायौ ? तिनीहरूले भने (हो) हामीले वाचा गर्यौं । (अल्लाहले) भन्यो तिमीहरू साक्षी भइराख र म पनि तिम्रो साथमा साक्षी रहनेछु ।

Verse 82 — Surah Al-Imran 3:82

यसपछि पनि जो विमुख हुन्छन्, तिनी पथभ्रष्ट अवज्ञाकारी हुन् ।

Verse 83 — Surah Al-Imran 3:83

के तिनीहरू अल्लाहको धर्म बाहेक कुनै अरु धर्मको खोजीमा छन् ? जबकि सबै आकाशहरू र पृथ्वीका सबै प्राणीहरू चाहँदा वा नचाहँदै अल्लाहको आज्ञाकारी हुन्छन् र सबै उसैतिर फर्काइनेछन् ।

Verse 84 — Surah Al-Imran 3:84

हे मुहम्मद ! तपाई भनि दिनुस् कि हामीले अल्लाहमाथि ईमान ल्यायौं र जुन किताब हाम्रोलागि आकाशबाट उतारियो र जुन ग्रन्थहरू ‘‘इब्राहीम’’, ‘‘इसमाईल’’, ‘‘इस्हाक’’, ‘‘यअ्कूब’’ र तिनका सन्ततिहरूलाई प्रदान गरियो र जुन किताबहरू मूसा, ईसा र अन्य नबीहरूलाई तिनका पालनहारको तर्फबाट प्रदान गरियो ती सबैमाथि ईमान ल्यायौं । हामी यी पैगम्बरहरूमध्ये कसैको बारेमा भेदभावको व्यवहार गर्दैनौं र हामी एउटै अल्लाहको आज्ञाकारी हौं ।

Verse 85 — Surah Al-Imran 3:85

जुन मानिस इस्लाम बाहेक कुनै अन्य धर्मको खोजी गर्दछ भने उसको धर्म स्वीकार गरिने छैन र उसले आखिरतमा घाटामा पर्नेहरूमध्येको हुनेछ ।

Verse 86 — Surah Al-Imran 3:86

अल्लाहले त्यस्ता मानिसहरूलाई कसरी मार्गदर्शन गर्दछ जो आफूले ईमान ल्याएको, र रसूलको सच्चाईको गवाही दिएको र आफूसंग स्पष्ट प्रमाण आइसकेपछि पनि काफिर भइदिन्छन् । अल्लाहले यस्ता अन्यायीहरूलाई मार्गदर्शन गर्दैन ।

Verse 87 — Surah Al-Imran 3:87

ती मानिसहरूको सजाय यो हो कि तिनीमाथि अल्लाहको र फरिश्ताहरूको र सबै मानिसहरूको धिक्कार होस् ।

Verse 88 — Surah Al-Imran 3:88

सँधै धिक्कारमा नै रहनेछन् । तिनीहरूको सजाय न त कम हुनेछ न त त्यसबाट उनीहरू छुटकारा पाउने छन् ।

Verse 89 — Surah Al-Imran 3:89

तर जसले त्यसपछि प्रायश्चित गरी आफ्नो अवस्था सुधार्छन् भने अल्लाह क्षमा प्रदान गर्नेवाला, दयावान छ ।

Verse 90 — Surah Al-Imran 3:90

निःसन्देह जुन मानिसहरूले ईमान ल्याएपछि काफिर भइहाले, अनि अनास्थातर्फ बढ्दै गए । त्यस्ताको पश्चाताप कहिल्यै स्वीकार गरिने छैन र यी मानिसहरू नै पथभ्रष्ट हुन् ।

Verse 91 — Surah Al-Imran 3:91

जुन मानिसहर कि ‘‘काफिर’’ भए र ‘‘कुफ्रकै’’ अवस्थामा मरिहाले, तिनीहरमध्ये यदि कसैले मुक्तिको लागि जमिन भरिको सुनै दिए पनि कहिल्यै स्वीकार गरिने छैन । यिनीहर नै हुन् जसको लागि कष्टदायक सजाय हुनेछ र तिनको कसैले सहायता गर्ने छैन ।

Verse 92 — Surah Al-Imran 3:92

(मोमिनहरू !) जबसम्म जुन कुराहरू तिमीलाई प्रिय छन् (अल्लाहको मार्गमा) त्यसबाट खर्च गर्ने छैनौ, तबसम्म कदापि पुण्य प्राप्त गर्न सक्ने छैनौ र जुन कुरो तिमीले खर्च गर्नेछौ, त्यो अल्लाहलाई राम्ररी थाहा छ ।

Verse 93 — Surah Al-Imran 3:93

सबै खानेकुरा बनी इस्राईलको निम्ति तौरात उतारिनुभन्दा अगाडि हलाल थिए । ती कुरा बाहेक जुनकि यअ्कूबले आफ्नो लागि वर्जित गरेका थिए । (हे मुहम्मद) भनिदिनुस् कि, यदि तिमी सत्य हौ भने तौरात ल्याऊ र त्यसलाई पढेर सुनाऊ ।

Verse 94 — Surah Al-Imran 3:94

यस पश्चात पनि जुन मानिसहरू अल्लाहमाथि झूठा आरोप लगाउँछन् ती नै अन्यायी हुन् ।

Verse 95 — Surah Al-Imran 3:95

भनिदेऊ ! कि अल्लाह सच्चा हो । तिमी सबै इब्राहीमको धर्मको पालना गर, जो मुश्रिकहरूमध्येबाट थिएनन् ।

Verse 96 — Surah Al-Imran 3:96

(अल्लाहको) पहिलो घर जुन मानिसहरूको निमित्त पूजाको लागि निर्धारित गरिएको थियो, त्यहि नै हो जुन मक्कामा अवस्थित छ, कल्याणकारी र (विश्वको निम्ति) मार्गदर्शक छ ।

Verse 97 — Surah Al-Imran 3:97

यसमा स्पष्ट निशानीहरू छन्, जसमध्ये एउटा इब्राहीमको उभिने स्थल हो । यसमा जो प्रवेश गर्दछ, त्यसले अमन (शान्ति) प्राप्त गर्दछ । मानिसहरूमाथि अल्लाहको हक छ कि जसले त्यस घरसम्म पुग्ने सामथ्र्य राख्दछ, त्यसले हज (धार्मिक यात्रा) गरोस् । यदि कसैले यस आदेशको पालना गर्दैन भने अल्लाह पनि उससित बरु संसारबाट निस्पृह छ ।

Verse 98 — Surah Al-Imran 3:98

तपाई भन्नुस् कि हे यहुदी–ईसाई ! तिमी अल्लाहका निशानीहरूलाई किन नकारिराखेका छौ ? र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापको साक्षी छ ।

Verse 99 — Surah Al-Imran 3:99

भन कि हे अहले किताब ! तिमी मानिसहरूलाई अल्लाहको मार्गबाट किन रोक्ने गर्दछौ र यसमा अवगुण खोज्दैछौ, यसको बावजूद कि तिमीहरू आफै साक्षी छौ र अल्लाह तिम्रा क्रियाकलापसित असावधान छैन ।

Verse 100 — Surah Al-Imran 3:100

हे मोमिनहरू ! यदि तिमी अहले किताबको कुनै समूहको कुरा मान्नेछौ भने तिनीहरूले तिमीलाई ईमान ल्याइसकेपछि पनि काफिर बनाइदिन्छन् ।

Verse 101 — Surah Al-Imran 3:101

(स्पष्ट छ कि) तिमीहरूले ईमान परित्याग कसरी गर्छौ जबकि तिमीलाई अल्लाहका आयतहरू पढेर सुनाइन्छन् र तिम्रो माझमा अल्लाहका रसूल (स.) बस्दछन् र जसले अल्लाहको धर्मको डोरीलाई दृढतापूर्वक समात्यो, निःसंदेह उसलाई सोझो मार्ग प्राप्त भइसक्ने छ ।

Verse 102 — Surah Al-Imran 3:102

हे मोमिनहरू ! अल्लाहसँग यति डर जति उसँग डर्नु पर्ने हो, र हेर मर्ने बेलासम्म मुसलमान नै रहनु ।

Verse 103 — Surah Al-Imran 3:103

सबै मिलेर अल्लाहको डोरीलाई दृढतापूर्वक समातिराख्नु र विभाजित नहुनु र अल्लाहको त्यस अनुकम्पालाई यादगर कि जब तिमी एक अर्काको शत्रु थियौ, त उसले तिम्रा हृदयहरूमा प्रेमको सृजना गर्यो र उसको कृपाले तिमीहरू आपसमा भाइ–भाइ भइहाल्यौ, र तिमी आगोको खाल्डो छेउ पुगिसकेका थियौ, त अल्लाहले तिमीलाई त्यसबाट बचाइहाल्यो । यस प्रकार अल्लाहले तिमीलाई आफ्ना निशानीहरूको वर्णन गर्दछ ताकि तिमी मार्गदर्शन प्राप्त गर्नसक ।

Verse 104 — Surah Al-Imran 3:104

तिमीमध्ये एउटा समूह यस्तो हुनुपर्छ जसले कि मानिसहरूलाई सदाचारतिर आमन्त्रित गरोस् र सत्कर्मको सन्देश देओस् र दुष्कर्मबाट रोकोस् र तिनै मानिसहरूले मुक्ति प्राप्त गर्नेहरू हुन्छन् ।

Verse 105 — Surah Al-Imran 3:105

तिमी ती मानिसहरू जस्तो नहुनु जसले आफू समक्ष स्पष्ट आदेशहरू आइपुगेपछि पनि एकअर्कासँग विवाद र मतभेद गर्नथाले । यी त्यस्ता मानिसहरू हुन् जसले ठूलो सजाय भोगने छन ।

Verse 106 — Surah Al-Imran 3:106

जुन दिन धेरै अनुहारहरू उज्यालो देखिने छन् र धेरै अनुहारहरू कालो हुनेछन्, त जुन मानिसहरूका अनुहार कालो हुनेछन्, (तिनीहरूसँग अल्लाहले सोध्ने छ) के तिमीहरूले ईमान ल्याएपछि फेरि कुफ्र गर्यौ, अब आफ्नो कुफ्रको कारण सजाय भोग ।

Verse 107 — Surah Al-Imran 3:107

जुन मानिसहरूका अनुहार उज्यालो हुनेछन् तिनीहरू अल्लाहको अनुकम्पाभित्र हुनेछन्, र त्यसैमा सधैं बास गर्नेछन् ।

Verse 108 — Surah Al-Imran 3:108

हे नबी ! यी अल्लाहका सत्य आयतहरूलाई हामीले तपाईका लागि राम्ररी पढेर सुनाउँदछौं र अल्लाहले मानिसहरूमाथि अन्याय गर्न चाहँदैन ।

Verse 109 — Surah Al-Imran 3:109

जे जति आकाशहरूमा र पृथ्वीमा छन्, सबै अल्लाहकै हुन् र सबै कुरा (अन्तमा) अल्लाहतिर नै फर्कने छन् ।

Verse 110 — Surah Al-Imran 3:110

(मोमिनहरू !) मानिसहरूका लागि पैदा गरिएको सबै सम्प्रदायहरूमध्ये तिमीहरू सबैभन्दा उत्तम हौ किनकि सत्कर्म गर्न भन्दछौ र दुष्कर्मबाट टाढा रहन सिकाउँदछौ र अल्लाहमाथि आस्था राख्दछौ र यदि अहले किताबले पनि आस्था राखेको भए तिनीहरूको निम्ति धेरै राम्रो हुने थियो । तिनीहरूमध्ये ईमानवालाहरू पनि छन् र धेरै जसो अवज्ञाकारीहरू छन् ।

Verse 111 — Surah Al-Imran 3:111

तिनीहरूले तिमीलाई साधारण दुःख दिन बाहेक कुनै ठूलो हानि पुर्याउन सक्दैनन् र यदि तिमीसँग संघर्षको अवसर आएमा भागिहाल्ने छन्, फेरि तिनीहरूले (कतैबाट) मद्दत पनि पाउने छैनन् ।

Verse 112 — Surah Al-Imran 3:112

यिनीहरूमाथि जहाँ पनि धिक्कार र अपमान भयो, अल्लाह र मानिसहरूका शरणमा गएकाहरू बाहेक । यिनीहरू अल्लाहको क्रोधको भागी भइसकेका छन् । र दरिद्रताले घेरिएका छन् । यो यसकारणले कि यिनीहरूले अल्लाहका आयतहरूलाई इन्कार गर्दथे र उसका दूतहरूलाई अकारण मारिदिन्थे, यो बदला हो यिनीहरूको अवज्ञाकारिता र अत्याचारको ।

Verse 113 — Surah Al-Imran 3:113

यिनीहरू सबै एक समान छैनन् । बरु यी अहले किताबमध्ये केही मानिसहरू सत्यमार्गमा कायम रहनेहरू पनि छन् । जसले रातिको समयमा पनि अल्लाहका आयतहरू पढ्दछन् र सज्दा पनि गर्दछन् ।

Verse 114 — Surah Al-Imran 3:114

यिनीहरू अल्लाहमाथि र आखिरतको दिनमा आस्था पनि राख्दछन् र सत्कर्म गर्न भन्दछन् र दुष्कर्मबाट मनाही गर्दछन् र सदाचारतिर अग्रसर हुन्छन् । यिनी सदाचारीमध्येका हुन् ।

Verse 115 — Surah Al-Imran 3:115

यिनीहरूले जति सत्कर्म गर्दछन् त्यसको उपेक्षा गर्नु हुँदैन । र, अल्लाह आत्मसंयमीहरूलाई राम्ररी जान्छ ।

Verse 116 — Surah Al-Imran 3:116

काफिरहरूका लागि तिनीहरूको धन–सम्पत्ति र सन्तान अल्लाहका नजिक केही काम लाग्दैनन् । यिनीहरू त नारकीय हुन्, सधै त्यसैमा रहनेछन् ।

Verse 117 — Surah Al-Imran 3:117

यी अनास्थावादीले यो जीवनमा जुन धन खर्च गर्दछन् त्यसको उदाहरण त्यस हिउँले भरिएको बतास जस्तो छ, जुन अन्याय गर्ने मानिसहरूको खेतीको माथि चल्यो र त्यसलाई तहस नहस पारिदियो । अल्लाहले तिनीहरूमाथि कुनै अत्याचार गरेको छैन, बरु तिनीहरू आफैले आफूमाथि अत्याचार गरिराखेका छन् ।

Verse 118 — Surah Al-Imran 3:118

हे मोमिनहरू ! ईमान ल्याएका बाहेक अरुलाई आफ्नो घनिष्ट मित्र नबनाऊ । तिमी त देख्दैनौ, यी मानिसहरूले तिमीहरूलाई बर्बाद पार्नमा कुनै कसर बाँकी राख्दैनन् र यिनीहरू चाहन्छन् कि (जसरी पनि) तिमीलाई कष्ट पुगोस् । तिनीहरूका मुखबाट त शत्रुता प्रकट भइसकेको छ र जुन (छलकपट) तिनका छातीमा लुकेको छ, त्यो त झन् धेरै छ । हामीले तिमीलाई आफ्ना आयतहरू स्पष्ट गरिदिइसकेका छौं यदि तिमी बुझदछौ ।

Verse 119 — Surah Al-Imran 3:119

तिमीहरूसंग बुद्धि भए आफै हेरिहाल कि तिमी त तिनीहरूलाई चाहन्छौ तर तिनीहरू तिमीसँग मित्रता गर्दैनन् । तिमी सबै ग्रन्थहरूमा विश्वास गर्दछौ । (तिनीहरू मान्दैनन्) तिनीहरूले तिम्रा सामु ईमान ल्याएको स्वीकार गर्दछन् र जब तिमीबाट अलग हुन्छन् त तिमीसँग क्रोधको कारणले आफ्नै औंला टोक्न थाल्दछन् । भनिदेऊ ! कि तिमीहरू क्रोधमै मरिहाल, अल्लाह तिम्रा हृदयका रहस्यहरूलाई राम्ररी बुझ्दछ ।

Verse 120 — Surah Al-Imran 3:120

यदि तिमीलाई भलाई प्राप्त हुन्छ भने तिनलाई नराम्रो लाग्छद, यदि तिमीलाई दुःख हुन्छ भने तिनीहरू खुशी हुन्छन् । यदि तिमीले संतोषगरी अल्लाहबाट डर मान्छौ भने, तिनका षड्यन्त्रले तिमीलाई केही पनि नोक्सान पुर्याउन सक्ने छैन । अल्लाहले तिनीहरूले गर्ने कृयाकलापको घेराबन्दी गरी सकेको छ ।

Verse 121 — Surah Al-Imran 3:121

हे नबी, त्यस समयलाई पनि स्मरण गर जब बिहान–बिहानै तपाईले आफ्ना घरबाट शीघ्र प्रस्थान गरी ईमानवालाहरूलाई युद्ध क्षेत्रका मोर्चाहरूमा (जङ्गे उहुद्) सुव्यवस्थित तरिकाले खटाइराखेको थियौ । र अल्लाह सबै कुरा सुन्ने र जान्नेवाला हो ।

Verse 122 — Surah Al-Imran 3:122

जुनबेला तिमीमध्येबाट दुई समूहले (बनू हारसा र बनू सल्मा) हिम्मत छोड्ने इच्छा गरेका थिए, अल्लाह नै तिनको मद्दतकर्ता हो । मोमिनहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्छ ।

Verse 123 — Surah Al-Imran 3:123

अल्लाहले बद्रको युद्धमा पनि ठीक त्यस बेला तिम्रो सहायता गरेको थियो, जब तिमी धेरै कमजोर अवस्थामा पुगिसकेका थियौ । तसर्थ अल्लाहसँग मात्र डर जसबाट तिमी आभार प्रकट गर्नसक ।

Verse 124 — Surah Al-Imran 3:124

जब तपाईले मोमिनहरूलाई भरोसा दिइरहनु भएको थियो । के यो पर्याप्त छैन कि पालनकर्ताले तीन हजार दूतहरू (फरिश्ता) पठाई तपाईलाई मद्दत गर्यो ।

Verse 125 — Surah Al-Imran 3:125

हो, यदि तिमी संतोष र धैर्य राख्दछौ र तिनीहरू यसैबेला तिमीमाथि आइलाग्छन् भने तिम्रो रबले पाँचहजार दूतहरू, जसमाथि चिन्हहरू हुनेछन्, तिम्रो सहायताको लागि पठाउने छ ।

Verse 126 — Surah Al-Imran 3:126

र त्यो मद्दतलाई त अल्लाहले तिम्रो खुशी र सन्तुष्टिको लागि गर्यो अन्यथा सहायता त अल्लाहकै तर्फबाट हुन्छ, जो सर्वशक्तिमान र कौशल सम्पन्न छ ।

Verse 127 — Surah Al-Imran 3:127

(यस कारणले त्यो मद्दत गर्याे कि) काफिरहरूको एउटा समूहलाई निर्मूल वा अपमानित गरिहालोस् जसलेगर्दा ती सबै असफल भई फर्किहालुन् ।

Verse 128 — Surah Al-Imran 3:128

हे पैगम्बर ! यसमा तपाईको अख्तियारमा केही छैन । अल्लाहले चाहेमा तिनीहरूको प्रायश्चित स्वीकार गर्दछ अथवा तिनीलाई सजाय दिन्छ किनभने तिनीहरू अत्याचारी हुन् ।

Verse 129 — Surah Al-Imran 3:129

आकाशहरूमा र धरतीमा जे छ, सबै अल्लाहको हो । उसले आफ्नो इच्छा अनुसार जसलाई चाहन्छ क्षमा गरिदिन्छ र जसलाई चाहन्छ, दण्ड दिन्छ र अल्लाह क्षमादाता र दयावान छ ।

Verse 130 — Surah Al-Imran 3:130

हे ईमानवालाहरू ! बढाई–चढाई व्याज नखाऊ, अल्लाहसँग डर ताकि मुक्ति प्राप्त गर्नसक ।

Verse 131 — Surah Al-Imran 3:131

र त्यस आगोबाट डर, जुन काफिरहरूको लागि तयार गरिएको छ ।

Verse 132 — Surah Al-Imran 3:132

अल्लाह र उसको रसूलको आज्ञापालन गर ताकि तिमीमाथि कृपा गरियोस् ।

Verse 133 — Surah Al-Imran 3:133

र, आफ्नो रबको क्षमा र त्यस स्वर्गतर्फ अगाडि बढ जसको चौडाई आकाश र पृथ्वी जतिको छ, र जुन अल्लाहसँग डर मान्नेहरूको निम्ति बनाइएको छ ।

Verse 134 — Surah Al-Imran 3:134

जसले सुख र दुःखमा (अल्लाहको मार्गमा) खर्च गर्दछन् र क्रोधलाई नियन्त्रणमा राख्दछन् र मानिसहरूका त्रुटिहरू क्षमा गरिदिन्छन्, अल्लाह ती सत्कर्म गर्नेहरूलाई प्रेम गर्दछ ।

Verse 135 — Surah Al-Imran 3:135

जब तिनीहरूले खुलारूपमा कुनै गल्ती वा गुनाह गर्दछन् त तत्कालै अल्लाहलाई स्मरण गर्दछन् र आफ्ना भूलहरूका लागि क्षमायाचना गर्दछन् । तथ्य यो छ कि अल्लाह बाहेक कसले क्षमादान गर्न सक्छ ? तिनीहरू जानी जानी आफ्नो गलत कामहरूको लागि अडान लिदैनन् ।

Verse 136 — Surah Al-Imran 3:136

यस्तै मानिसहरूका लागि पुरस्कार, तिनको पालनकर्ताको तर्फबाट माफी, र स्वर्ग छ, जसमुनि नहरहरू बगरिहेका छन्, तिनीहरू त्यसमा सधैं बस्नेछन् । ती असल कर्म गर्नेहरूको पुरस्कार धेरै राम्रो छ ।

Verse 137 — Surah Al-Imran 3:137

तिमीहरूभन्दा अगाडि पनि यस्ता घटनाहरू घटिसकेका छन्, तसर्थ पृथ्वीमा भ्रमण गरी हेर कि अल्लाहका आदेशलाई इन्कार गर्नेहरूको परिणाम के भयो ।

Verse 138 — Surah Al-Imran 3:138

सामान्य मानिसहरूको निम्ति यो (कुरआन) एउटा वक्तव्य हो र अल्लाहका सेवकहरूका लागि पथप्रदर्शन र नसीहत हो ।

Verse 139 — Surah Al-Imran 3:139

हेर, तिमी न अल्छी गर न चिन्तित होऊ । यदि तिमी ईमानवाला हौ भने तिम्रै वर्चस्व कायम हुनेछ ।

Verse 140 — Surah Al-Imran 3:140

यदि तिमीलाई (पराजयको) चोट पुगेको छ भने विरोधीहरू पनि घाइते भइसकेका छन् । यी दिनहरूलाई मानिसहरूमाझ हामीले परिवर्तन गरिराख्दछौ, (उहुद पराजयको) यो पनि उद्देश्य थियो कि अल्लाहले ईमान भएकाहरूलाई अलग गरिहालोस् र तिमीहरूमध्येबाट केहीलाई शहादत प्रदान गरोस् । अल्लाह अत्याचारीहरूलाई प्रेम गर्दैन ।

Verse 141 — Surah Al-Imran 3:141

(र यो पनि कि) अल्लाहले ईमान भएकाहरूलाई बिल्कुल अलग गरेर काफिरहरूलाई निर्मूल पारिदेओस् ।

Verse 142 — Surah Al-Imran 3:142

के तिमीले यो ठानी सकेका छौ कि (बिना परीक्षा) तिमीहरू स्वर्गमा प्रवेश पाउने छौ, यद्यपि अहिलेसम्म अल्लाहले यो स्पष्ट गरेको छैन कि तिमीहरूमध्येका जिहादी को हुन् र संतोष गर्नेहरू को हुन्

Verse 143 — Surah Al-Imran 3:143

युद्ध हुनुभन्दा पहिला त तिमी शहादतको इच्छुक थियौ, अब त तिमीले त्यसलाई आफ्नै आँखाले देखिहाल्यौ ।

Verse 144 — Surah Al-Imran 3:144

मुहम्मद (सल्ललाहु अलैहे वसल्लम) त मात्र अल्लाहका रसूल हुन् । उनीभन्दा पहिला पनि धेरै रसूलहरू गुज्री सकेका छन् । यदि उनको मृत्यु हुन्छ अथवा उनी शहीद भइहाले भने के तिमी इस्लामबाट तत्काल फर्किहाल्छौ ? र यदि जो कोही विचलित भइहाल्छ भने त्यसले अल्लाहको केही बिगार्न सक्तैन र अल्लाहले कृतज्ञहरूलाई छिट्टै राम्रो प्रतिफल प्रदान गर्नेछ ।

Verse 145 — Surah Al-Imran 3:145

अल्लाहको अनुमति बेगैर कुनै जीवित मर्दैन, सबैको समयावधि निर्धारित गरिएको छ र जुन व्यक्ति संसारमा फल चाहन्छ, त्यसलाई हामीले दुनिया मै केही फल दिन्छौ र जो आखिरतमा फल प्राप्तिको इच्छुक छ, उसलाई हामीले त्यो पनि दिनेछौं र कृतज्ञहरूलाई हामीले राम्रो प्रतिफल प्रदान गर्नेछौं ।

Verse 146 — Surah Al-Imran 3:146

धेरै नबीहरूका सहयात्री भएर अल्लाहका धेरै उपासकहरू अल्लाहका शत्रुहरूसित युद्ध गरेका छन् । तिनीहरूलाई पनि अल्लाहको मार्गमा दुःख पर्याे, तर त्यसबाट तिनीहरूले कहिल्यै न त साहस गुमाए, न अल्छी भए र न त शत्रुबाट हार माने । अल्लाह सहनशीलहरूलाई नै चाहन्छ ।

Verse 147 — Surah Al-Imran 3:147

(यस्तो अवस्थामा पनि) तिनीहरूले यो भन्दै गरे कि हे पालनहारः हाम्रा पापहरू माफ गरिदेऊ र हाम्रा काममा भएका भूलहरू क्षमा गरिदेऊ र हामीलाई दृढ र अटल राख र काफिरहरूमाथि विजय प्राप्त गर्न हाम्रो सहायता गर ।

Verse 148 — Surah Al-Imran 3:148

अल्लाहले तिनलाई संसारमा पनि पुरस्कृत गर्यो र आखिरतमा पनि धेरै राम्रो प्रतिफलको खूबी प्रदान गर्यो । र अल्लाह सदाचारीहरूलाई मायाँ गर्दछ ।

Verse 149 — Surah Al-Imran 3:149

मोमिनहरू हो ! यदि तिमी काफिरहरूको भनाई मान्छौ भने, तिनीहरूले तिमीलाई तुरुन्तै विचलित गराइदिनेछन्, अनि तिमीलाई ठूलै हानि हुनेछ ।

Verse 150 — Surah Al-Imran 3:150

अपितु अल्लाह नै तिम्रो मालिक हो र उही नै सबभन्दा राम्रो मद्दतगार हो ।

Verse 151 — Surah Al-Imran 3:151

हामीले छिट्टै काफिरहरूको हृदयमा तिम्रो भयको सृजना गरिदिनेछौं, किनभने तिनीहरूले अल्लाहसित अरुहरूको साझेदारी ठहराउँछन्, जसको कि अल्लाहले कुनै प्रमाण पठाएको छैन र तिनको आश्रय नर्क हुनेछ । र त्यो अत्याचारीहरूको लागि सबैभन्दा नराम्रो बासस्थान हो ।

Verse 152 — Surah Al-Imran 3:152

अल्लाहले आफ्नो वचन पूरा गरेर देखाइहाल्यो, जब तिमीले उसको आदेशले काफिरहरूलाई मरिराखेका थियौ, यहाँसम्म कि जब तिमीले आफ्नो साहस गुमाउन लागेका थियौ र काममा झगडा गर्न थाल्यौ र उसको आदेशको अवज्ञा गर्यौ, यस पश्चात पनि कि तिमीले चाहेको चीज उसले तिमीलाई देखाइदियो । तिमीहरूमध्ये केही त सांसारिक लाभ प्राप्तिको इच्छा गरिराखेका थिए र केही परलोकको आकांक्षा राख्दथे । फेरि अल्लाहले तिमीलाई तिनीहरूकोसँगबाट फर्काइहाल्यौ ताकि तिम्रो परीक्षा गरोस् र निःसंदेह उसले तिम्रा सम्पूर्ण त्रुटिहरूलाई क्षमा गरिदियो र अल्लाह आस्थावानहरूमाथि धेरै दया गर्दछ ।

Verse 153 — Surah Al-Imran 3:153

जब तिमीहरू टाढा भाग्दै थियौ र कसैको वास्ता गरिराखेका थिएनौ र अल्लाहका रसूलले तिमीलाई तिम्रो पछाडिबाट आवाज दिइरहनु भएको थियो । तिमीमाथि एक कष्ट पछि अर्को दुःख पुग्यो ताकि जुन कुरो तिम्रो हातबाट हराउँदै थियो त्यसबाट दुःखी नहोऊ र नपुगेको कष्टको लागि उदास नहोऊ । अल्लाह सबै क्रियाकलापको जानकारी राख्दछ ।

Verse 154 — Surah Al-Imran 3:154

अनि त्यस कष्टपछि अल्लाहले तिमीलाई सन्तुष्टि प्रदान गर्यो जसबाट तिमीहरूमध्येको एउटा समूहलाई शान्तिको निद्रा आउन लाग्यो, जबकि अर्कोतर्फ एउटा त्यो समूह पनि थियो, जसलाई आफ्नो प्राणको चिन्ता थियो उनीहरूले अल्लाहप्रति मूर्खतापूर्ण शंकाको कुरा गरिरहेका थिए र भन्दथे कि के हामीलाई पनि कुनै कुराको अधिकार छ र ? तपाई भनिदिनुस् कि सबै कुराहरू अल्लाहको अधिकार अन्तर्गत पर्दछन् । तिनीहरूले आफ्नो मनमा लुकाएर राखेका कुरा तपाई सम्मुख प्रकट गर्दैनन् । भन्दथे कि यदि हाम्रो अधिकारभित्र केही कुरा भएको भए हामी यहाँ किन मारिन्थ्यौं ?। तपाई भनिदिनुस् कि यदि मारिनु नै तिम्रो भाग्य भएको भए, तिमी आफ्नो घरहरूमा भए पनि निश्चितरूपमा आफ्ना मृत्युस्थलतिरै निस्की जाने थियौ । कि अल्लाहले तिम्रो छाती भित्रको कुराको परीक्षा गर्नु र तिम्रो हृदयमा जे छ त्यसलाई पवित्र गर्नु थियो र अल्लाह हृदयहरूमा भएका भित्री कुराहरू राम्ररी जान्दछ ।

Verse 155 — Surah Al-Imran 3:155

तिमीहरूमध्ये जुन मानिसहरू भागिहाले, त्यसदिन जब दुई समूहहरूको बीच भिडन्त भएको थियो, । तिनीहरू आफ्ना केही क्रियाकलापका कारण शैतानको जालमा परिहाले, तर अल्लाहले तिनका त्रुटिहरूलाई क्षमा गरिदियो निःसन्देह अल्लाह क्षमाकर्ता र सहनकर्ता छ ।

Verse 156 — Surah Al-Imran 3:156

हे मोमिनहरू ! तिमी ती मानिसहरू जस्तो न हुनु जसले ‘‘कुफ्र’’ गरे र आफ्ना भाइहरूको बारेमा जो यात्रा गरिरहेको अथवा जिहादमा संलग्न हुन्छन् भन्न थाले कि यदि तिनीहरू हाम्रो साथमा भएको भए न त मर्दथे, न त मारिन्थे, यसको कारण यो थियो कि अल्लाहले तिनीहरूको हृदयमा त्यस्तो आकांक्षाको सृजना गरिदिन्छ । र जीवन र मृत्यु त अल्लाह नै दिन्छ र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापलाई हेरिराखेको छ ।

Verse 157 — Surah Al-Imran 3:157

र यदि तिमीहरू अल्लाहको मार्गमा मारिन्छौ अथवा आफ्नो मृत्यु मर्दछौ भने निःसंदेह यिनीहरूले संकलन गरिरहेको (धनसम्पत्ति) भन्दा अल्लाहको क्षमादान र दया धेरै राम्रो छ ।

Verse 158 — Surah Al-Imran 3:158

निश्चितरूपले यदि तिमी मर्दछौ अथवा मारिन्छौ, त याद राख कि अल्लाहको सम्मुख अवश्य नै प्रस्तुत गरिनेछौ ।

Verse 159 — Surah Al-Imran 3:159

(हे मुहम्मद !) अल्लाहको कृपाले तपाईको मन यिनीहरूप्रति नरम छ र यदि तपाई कटु वचन र कठोर हृदयको भएको भए यिनीहरू तपाईबाट टाढा भागिहाल्दथे, तसर्थ तिनीहरूलाई क्षमा गरिदिनुस् र तिनीहरूको निम्ति क्षमाको लागि प्रार्थना गर्नुस् र आफ्ना कामहरूमा यिनीहरूसँग सरसल्लाह गर्ने गर्नुस्, र जब कुनै कामबारे दृढ निश्चय गर्दछौ भने अल्लाहमाथि पूर्ण भरोसा राख । निःसन्देह अल्लाह भरोसा गर्नेहरूलाई प्रेम गर्दछ ।

Verse 160 — Surah Al-Imran 3:160

यदि अल्लाह तिम्रो मद्दत गर्दछ भने कसैले तिमीलाई पराजित गर्न सक्दैन । र यदि अल्लाहले तिमीलाई छोडिदिन्छ भने, को छ उसपछि जसले तिम्रो सहायता गर्न सकोस् ? तसर्थ मोमिनहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्दछ ।

Verse 161 — Surah Al-Imran 3:161

यो असम्भव छ कि रसूलले बेइमानी गरुन् । र प्रत्येक बेइमानी गर्नेले कियामतको दिन बेइमानी गरिएको कुरा समेत लिएर प्रस्तुत हुनुपर्ने छ, त्यसपछि प्रत्येक मानिसलाई उसले गरेको कर्तव्यको पूरापूर प्रतिफल दिइने छ, र तिनीहरूमाथि अन्याय गरिने छैन ।

Verse 162 — Surah Al-Imran 3:162

के त्यो मानिस जसले अल्लाहको सदिच्छा प्राप्तिको लागि प्रयत्नशील छ, त्यस मानिस जस्तो हुनसक्छ जसले अल्लाहको क्रोध लिएर फर्कन्छ ? र जसको बासस्थान जहन्नम छ जो अत्यन्तै नराम्रो ठाउँ हो ।

Verse 163 — Surah Al-Imran 3:163

अल्लाहकहाँ तिनीहरूको भिन्न–भिन्न श्रेणीहरू छन् र अल्लाहले तिनीहरूका सम्पूर्ण क्रियाकलापलाई देखिराखेको छ ।

Verse 164 — Surah Al-Imran 3:164

निःसंदेह अल्लाहको मोमिनहरूमाथि ठूलो अनुकम्पा छ कि उसले तिनीहरूको माझमा तिनीहरूमध्येबाटै एउटा रसूल पठायो जसले कि अल्लाहका आयतहरू पढेर उनीहरूलाई सुनाउँदछ र तिनलाई पवित्र गर्दछ र उनलाई किताब र बुद्धिमता सिकाउँदछ, यिनीहरू यसभन्दा पहिला खुल्लारूपमा पथविचलित थिए ।

Verse 165 — Surah Al-Imran 3:165

(यस्तो किन) कि जब तिमीलाई एउटा कष्ट दिइयो, जबकि यसको दुई–गुणा कष्ट तिम्रो हातबाट तिनीहरूमाथि परिसकेको थियो, त तिमीहरू भन्नथाल्यौ कि यस्तो संकट कहाँबाट आइपर्यो ?। तपाई भनिदिनुस् कि यो तिमीहरूकै तर्फबाट आइपुगेको हो । निःसन्देह अल्लाह सम्पूर्ण कुराहरूमाथि सार्मथ्य राख्दछ ।

Verse 166 — Surah Al-Imran 3:166

तिमीलाई जे जति त्यो दिन पुगे, जुनदिन दुई समूहमा भिडन्त भयो, त्यो जम्मै अल्लाहकै आदेशले भएको थियो र यसकारण कि अल्लाहले मोमिनहरूलाई राम्ररी जान्न सकोस् ।

Verse 167 — Surah Al-Imran 3:167

साथै मुनाफिकहरूलाई छुट्याउनका निम्ति पनि जोसंग भनियो कि आऊ अल्लाहको मार्गमा युद्ध गर अथवा काफिरहरूको आक्रमणलाई रोक । त भन्न थाले कि यदि हामीलाई युद्धबारे थाहा भएको भए, हामी अवश्य नै तिम्रो साथ दिने थिएँ । त्यसदिन यिनीहरू ईमानको दाँजोमा कुफ्रको नजिक थिए । आफ्नो मुखले तिनीहरूले ती कुराहरू भन्दछन् जुन तिनका हृदयमा छैनन् । र यिनले जे–जति कुरा लुकाउँछन्, अल्लाहलाई त्यसबारे सबै राम्ररी थाहा छ ।

Verse 168 — Surah Al-Imran 3:168

यी ती मानिस हुन जो आफू पनि बसिराखेका थिए, र आफ्ना दाजुभाइहरूको बारेमा भने कि यदि हाम्रो आग्रह तिनीहरूले मानेको भए मारिने थिएनन् । भनिदिनुस् ! कि यदि तिमी साँचो हौ भने आफूलाई मृत्युबाट बचाऊ ।

Verse 169 — Surah Al-Imran 3:169

जुन मानिसहरूले अल्लाहको बाटोमा शहादत पाए, तिनलाई कदापि मुर्दा नठान्नु । बरु जीवितै छन् र तिनले आफ्ना रबबाट जीविका प्राप्त गरिराखेका छन् ।

Verse 170 — Surah Al-Imran 3:170

अल्लाहले तिनलाई आफ्नो कृपाले जे जति प्रदान गरेको छ, त्यसमा तिनीहरू अति खुशी छन् र खुशीयाली मनाइरहेका छन् उनीहरूका लागि जो अहिलेसम्म तिनीहरूमा शम्मिलित हुन सकेनन् र पछाडि छन्, यस कारण हर्षित छन् कि तिनलाई पनि न त कुनै भय–त्रास हुन्छ र न त तिनी दुःखी हुनेछन् ।

Verse 171 — Surah Al-Imran 3:171

र अल्लाहबाट प्रदान गरिएको पुरस्कारबाट तिनीहरू खुशी भइराखेका छन् र यस कुराबाट पनि कि अल्लाह मोमिनहरूको परिश्रम कहिल्यै खेर फाल्दैन ।

Verse 172 — Surah Al-Imran 3:172

जसले घाइते भएको बावजूद पनि अल्लाह र रसूलको आदेश स्वीकार गरे, यिनिहरूमध्ये जसले पुण्यको काम गरे र सदाचार गरे उनीहरूका लागि निकै ठूलो पुरस्कार छ ।

Verse 173 — Surah Al-Imran 3:173

(जब) तिनीहरूसित मानिसहरू आएर भने कि काफिरहरूले तिमीहरूभन्दा ठूलो सेना एकत्रित गरिसकेका छन्, तसर्थ उनीहरूसित डर मान त यस कुराले तिनको ईमानमा झन् बृद्धि गरिहाल्यो र भन्न थाले कि हामीलाई अल्लाह नै प्रयाप्त छ र ऊ सर्वोत्तम योजनाकार छ ।

Verse 174 — Surah Al-Imran 3:174

(परिणाम यो भयो कि) अल्लाहको उपहार र कृपाका साथ फर्के, तिनीलाई कुनै हानि पुगेन र तिनीहरू अल्लाहको प्रसन्नताको निम्ति नतमस्तक रहे र अल्लाह अपार दानशील छ ।

Verse 175 — Surah Al-Imran 3:175

यो समाचार दिने त शैतान नै हो; जसले कि आफ्ना मतियारहरूबाट भय सृजना गराउँदछ । तिमीहरू उसबाट नडर, तिमी यदि साँच्चै मोमिन हौ भने मसित नै डर्ने गर ।

Verse 176 — Surah Al-Imran 3:176

र जुन मानिसहरू कुफ्रतिर तीव्र गतिले बढिराखेका छन्, तिनले तिमीलाई भयभीत नगरुन्, निश्चितरूपले स्वीकार गर कि यिनले अल्लाहको केही हानि नोक्सानी गर्न सक्दैनन् । अल्लाह चाहन्छ कि आखिरतका दिनमा तिनलाई अंश नदेओस् र तिनको निम्ति ठूलो सजाय तयार छ ।

Verse 177 — Surah Al-Imran 3:177

ईमानको बदलामा कुफ्र किन्नेहरूले कदापि अल्लाहको केही बिगार्न सक्दैनन् र तिनकै लागि कष्टदायक सजाय हुनेछ ।

Verse 178 — Surah Al-Imran 3:178

काफिरहरूले हामीले तिनलाई दिएको छूटलाई आफ्नो पक्षमा राम्रो नठानुन् । बरु हामीले तिनलाई यो छूट यसकारणले दिइराखेका छौं कि तिनीहरू बढी पाप गरिहालुन् । अन्ततः तिनलाई अपमानजनक सजाय हुनेछ ।

Verse 179 — Surah Al-Imran 3:179

जबसम्म अल्लाहले अपवित्रलाई पवित्रबाट अलग गर्दैन, मोमिनहरूलाई यस अवस्थामा जसमा कि तिमी छौ, कहिल्यै रहन दिने छैन । अल्लाहले तिमीलाई अदृश्य कुराबाट पनि अवगत गराउँदैन । (तर) हो, अल्लाहले आफ्ना रसूलहरूमध्ये जसलाई चाहन्छ रोज्दछ । तसर्थ तिमीले अल्लाह र उसका रसूलहरूमाथि आस्था राख, यदि आस्था राख्दछौ र आत्मसंयमी हुन्छौ भने त्यसको ठूलो प्रतिफल प्राप्त गर्ने छौ ।

Verse 180 — Surah Al-Imran 3:180

जुन मानिसहरूलाई जे जति धन सम्पत्ति अल्लाहले आफ्नो कृपाले प्रदान गरेको छ, तिनले त्यसमा कञ्जूस्यायीलाई आफ्नो हकमा राम्रो नठानुन् बरु (त्यो) तिनको निम्ति अहितकर छ । तिनीहरूले जुन धनमा कञ्जूसी गर्दछन् कियामतको दिन त्यसको तौक (पांग्रा) पहिराइने छन् । आकाशहरू र पृथ्वीको वेरासतको वास्तविक मालिक अल्लाह नै हो । र जुन क्रियाकलाप तिमीले गर्दछौ, अल्लाहलाई राम्री थाहा छ ।

Verse 181 — Surah Al-Imran 3:181

निश्चय नै अल्लाहले तिनको भनाई पनि सुनिहाल्यो जसले भन्दछन् कि अल्लाह गरिब छ र हामी धनी छौं । उनको यस भनाईलाई हामीले लेखिलिने छौं र उनीहरूले पैगम्बरहरूलाई बिना दोष मारिराखेको कुरा पनि, र हामीले भन्ने छौ कि बलिरहेको आगोको सजाय भोगिराख ।

Verse 182 — Surah Al-Imran 3:182

यो तिमीले गरेको कर्महरूको प्रतिफल हो, र अल्लाह आफ्ना भक्तहरूमाथि कहिल्यै अत्याचार गर्दैन ।

Verse 183 — Surah Al-Imran 3:183

यी त्यस्ता मानिस हुन् जो भन्दछन् कि अल्लाहले आदेश गरे अनुसार जबसम्म कुनै पैगम्बर हामी छेउ यस्तो कुर्बानी लिएर आउँदैन जसलाई आगोले खाइदेओस् तबसम्म हामीले विश्वास गर्दैनौ । भनिदिनुस् कि यदि तिमी साँचो हौ भने मभन्दा अघि कैयौं पैगम्बरहरू तिम्रा छेउ खुल्लारूपमा अनेक चमत्कारहरूका साथ यो पनि ल्याए जुन तिमीहरूले भनिराखेका छौ । फेरि उनीहरूलाई तिमीहरूले किन मार्यौ

Verse 184 — Surah Al-Imran 3:184

फेरि पनि यदि यिनीहरूले तपाईलाई साँचो मान्दैनन् भने यस्तै तपाईभन्दा अगाडि धेरै पैगम्बरहरू झुटलाइएको छन् जुन् खुला निशानी, तर्क र उज्यालो किताबहरू लिएर आइसकेका छन् ।

Verse 185 — Surah Al-Imran 3:185

प्रत्येक ज्यानले मृत्युको स्वाद चाख्नु पर्नेछ र तिमीलाई कियामतको दिन तिम्रा क्रियाकलापहरूको पूरापूर प्रतिफल प्रदान गरिने छ, तसर्थ जुन मानिसलाई नर्कको आगोबाट टाढा राखिनेछ र स्वर्गमा प्रवेश गराइनेछ, निश्चय नै उही सफल हुनेछ र संसारिक जीवन त भ्रमको सामान मात्र हो ।

Verse 186 — Surah Al-Imran 3:186

तिम्रा ज्यान र सम्पदाबाट तिम्रो परीक्षा गरिनेछ र तिमीले अहले किताब र ती मानिसहरूबाट जुन मुश्रिक छन्, कष्टदायक कुराहरू सुन्नु पर्नेछ । तसर्थ यदि तिमीले धैर्य र आत्मसंयम अपनाइराख्दछौ भने निःसंदेह यी ठूला साहसका काम हुन् ।

Verse 187 — Surah Al-Imran 3:187

र जब अल्लाहले किताबवालासित वचन लियो, कि सबैका लागि यसको वर्णन गर्ने छौ र त्यसको कुनै कुरा लुकाउँदैनौ, (तर) त्यसपछि तिनीहरूले त्यस वचनलाई अर्कोतिर फाली बेवास्ता गरिहाले र त्यसलाई थोरै मूल्यमा बेची दिए । यिनीहरूले गरेको यो व्यापार अत्यन्त नराम्रो छ ।

Verse 188 — Surah Al-Imran 3:188

जुन मानिसहरू आफ्ना कर्महरूबाट खुशी हुन्छन् र आफूले नगरेको कामको प्रशंसा पनि चाहन्छन् त्यस्ताको सम्बन्धमा यो नसोच्नु कि तिनीहरू सजायबाट मुक्त हुन सक्दछन्, तिनीहरूलाई कष्टदायक सजाय हुनेछ ।

Verse 189 — Surah Al-Imran 3:189

आकाशहरू र पृथ्वीको राज्य अल्लाह कै लागि हो र अल्लाह प्रत्येक कुरो माथि सर्वशक्ति सम्पन्न छ ।

Verse 190 — Surah Al-Imran 3:190

निःसन्देह आकाशमण्डल र पृथ्वीको सृष्टि र रात र दिनको चक्रमा बुद्धिमान मानिसहरूका लागि निशानीहरू छन् ।

Verse 191 — Surah Al-Imran 3:191

जुन मानिसहरूले उठदा, बस्दा र पल्टिरहँदा अल्लाहको स्मरण गर्दछन् र आकाशमण्डल र पृथ्वीको सृष्टिमाथि चिन्तन गर्दछन् र भन्दछन् कि हे हाम्रो पालनकर्ता ! तिमीले यी सबै निरुद्देश्य सृष्टि गरेको होइन । तिमी पवित्र छौ, हामीलाई नर्कको आगोबाट बचाऊ ।

Verse 192 — Surah Al-Imran 3:192

हे हाम्रो पालनकर्ता ! जसलाई तिमीले नर्कमा हाल्यौ, त्यसलाई तिरस्कृत गर्यौ र यस्ता अत्याचारीहरूको सहायता गर्ने कोही हुँदैन ।

Verse 193 — Surah Al-Imran 3:193

हे हाम्रो पालनकर्ता ! हामीले एउटा आह्वान गर्नेको आवाज सुन्र्यौ, जसले ईमानतिर आमन्त्रित गरिराखेको छ कि मानिसहरू हो आफ्नो पालनकर्तामाथि ईमान ल्याऊ । अनि हामीले ईमान ल्यायौं । हे रब! अब त हाम्रा सम्पूर्ण पापहरू क्षमा गर र हाम्रा दुर्गुणहरू हामीबाट टाढा गरिदेऊ र हाम्रो मृत्यु असल मानिसहरूको साथ गर ।

Verse 194 — Surah Al-Imran 3:194

हे हाम्रो पालनकर्ता ! तिमीले हामीलाई आफ्ना रसूलहरू मार्फत जुन वचन दिएका छौ, ती कुरा प्रदान गर र कियामतको दिन हामीलाई तिरस्कृत नगर्नु । यसमा कुनै सन्देह छैन कि तिमीले वचन विपरीत गर्दैनौ ।

Verse 195 — Surah Al-Imran 3:195

तसर्थ तिनका रबले तिनको प्रार्थना स्वीकार गरिहाल्यो । कि तिमीमध्ये कर्तव्य गर्नेहरूको कामको चाहे त्यो नर होस् वा नारी, खेर फालिंदैन । धर्म र पुण्य कार्यमा तिमीहरू आपसमा एक अर्का जस्तै हौ, अतः जुन मानिसहरू मेरो निम्ति आफ्ना घरहरू परित्याग गरी बसाई सारे वा आफ्ना घरहरूबाट निष्कासित भए र उत्पीडित गरिए र जसले मेरो लागि धर्मयुद्ध गरे र शहीद भए, निश्चय नै म उनका पापहरू निर्मूल गर्ने छु र तिनलाई त्यस्तो स्वर्गमा प्रवेश दिनेछु, जसमुनिबाट नहरहरू बगिराखेका छन् । (यो) अल्लाहको तर्फबाट पुरस्कार हो र अल्लाहकहाँ नै राम्रो पुरस्कार छ ।

Verse 196 — Surah Al-Imran 3:196

गाउँघरमा अनास्थावानहरूको भाग दौड तिमिहरूलाई धोकामा नपारोस् ।

Verse 197 — Surah Al-Imran 3:197

यो त अत्यन्त थोरै सुख सामग्री हो, यसपछि उनीहरूको ठेगाना नर्कमा छ, र त्यो अति नराम्रो बासस्थान हो ।

Verse 198 — Surah Al-Imran 3:198

तर जुन मानिसहरू आफ्नो पालनहारसँग डर मान्दछन्, तिनका निम्ति जन्नतहरू (स्वर्गहरू) छन् जसको मुनिबाट सरिताहरू प्रवाहित छन् (र) त्यसमा तिनीहरू सधैं रहनेछन् । यो अल्लाहबाट असल कर्म गर्नेहरूलाई पुरस्कार हो अल्लाहको तर्फबाट, र जे जति अल्लाहकहाँ छ, त्यो धेरै राम्रो छ ।

Verse 199 — Surah Al-Imran 3:199

निःसंदेह अहले किताबमध्ये केही यस्ता पनि छन्, जो कि अल्लाहमाथि र त्यसमाथि जुन तिमीलाई प्रदान गरिएको छ, र त्यसमाथि जुन तिनीहरूलाई प्रदान गरिएको छ, आस्था राख्दछन् र अल्लाहको अगाडि नतमस्तक हुन्छन् र अल्लाहको आयतलाई सानो तिनो मूल्यमा बेच्दैनन् । यस्ता मानिसहरूको प्रतिफल अल्लाहकहाँ तयार छ र अल्लाहले शीघ्र हिसाब लिनेवाला छ ।

Verse 200 — Surah Al-Imran 3:200

हे अहले ईमान ! धैर्य धारण गरिराख र कठिनाईमा दृघ रह, र धर्मयुद्धको लागि तयार रह, र अल्लाहसित डर ताकि तिमीहरू सफल हुनसक ।