Back to Languages

Nepali - Chapter 4 - An-Nisa

Translation by Ahl Al Hadith Central Society Of Nepal — Permalink

Verse 1 — Surah An-Nisa 4:1

(हे मानिसहर ! आफ्नो पालनकर्तासित डर, जसले तिमीहरलाई एकै प्राणीबाट सृष्टि ग¥यो र त्यसैबाट त्यसको जोई बनायो, तत्पश्चात ती दुबैबाट धेरै नर र नारीहर फैलाई १) हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर, जसले तिमीहरूलाई एकै प्राणीबाट सृष्टि गर्यो र त्यसैबाट त्यसको जोई बनायो, तत्पश्चात ती दुबैबाट धेरै नर र नारीहरू फैलाइहाल्यो । उस अल्लाहसँग डर जसको नामबाट तिमी एक–अर्कासंग माग्दछौ । र नाताको सम्बन्ध विच्छेदबाट टाढा रह । कुनै सन्देह छैन कि अल्लाह संरक्षक देखिराखेको छ ।

Verse 2 — Surah An-Nisa 4:2

अनाथहरूको सम्पत्ति तिनीहरूलाई सुम्पिहाल र पवित्र कुराको बदलामा अपवित्र चीज ग्रहण नगर । न त तिनीहरूको सम्पत्ति आफ्नो सम्पत्तिमा मिसाएर खाऊ । किनभने यो ठूलो पाप हो ।

Verse 3 — Surah An-Nisa 4:3

यदि तिमीलाई यस कुराको भय छ कि तिमीले अनाथ बालिकाहरूसित विवाह गरेर तिनीहरूसित न्याय गर्न सक्दैनौ भने, तिनी बाहेक तिमीले मन पराएको अन्य दुई, तीन वा चारसंग निकाह गरीहाल र यदि यस कुराको भय छ कि सबै स्वास्नीहरूसँग समान न्यायपूर्ण व्यवहार गर्न सक्दैनौ भने त एउटै स्वास्नी पर्याप्त छ । अथवा तिम्रो स्वामित्वमा रहने दासी । यो सम्भव छ यसबाट तिमीहरू अन्याय गर्नबाट बाँच्न सक्दछौ ।

Verse 4 — Surah An-Nisa 4:4

र स्वास्नीहरूलाई तिनका महर राजी खुशीपूर्वक दिइहाल तर हो, यदि तिनीहरू आफ्नै राजिखुशीले केही अंश छाडि दिन्छन् भने खुशीपूर्वक त्यसलाई खान–पिन गर ।

Verse 5 — Surah An-Nisa 4:5

र बुद्धिहीनहरूलाई आफ्ना माल नदेऊ जुन माललाई अल्लाहले तिम्रो जीविकाको साधन बनाएको छ । हो सोही मालबाट तिनीहरूलाई खाना कपडा दिंदै गर र उनीसित उचित कुरा गर्दैगर ।

Verse 6 — Surah An-Nisa 4:6

र अनाथहरूलाई उनी बालिग नहुन्जेल हेरचाह र सुधार गर्दै गर । फेरि यदि तिनीहरूमा बुद्धिको परिपक्वता र व्यवहार कुशलता देखिन्छ भने तिनलाई तिनको सम्पत्ति सुम्पिहाल र यस भयले कि तिनीहरू वयस्क भइहाल्छन् तिनीहरूको सम्पत्ति हतारपूर्वक फजूल खर्च नगर । सम्पत्ति भएकाहरूले त्यस्तो सम्पतिबाट टाढा रहनुपर्दछ । हो, गरिब र निर्धन छ भने नियम बमोजिम न्यायोचित रूपमा केही लेओस् । र जब तिनलाई तिनको सम्पत्ति सुम्पन्छौ भने त्यतिखेर साक्षी राख्नु, वास्तवमा अल्लाह नै हिसाब लिनको लागि प्रयाप्त छ ।

Verse 7 — Surah An-Nisa 4:7

जुन सम्पत्ति आमा बाबु र नातागोताले छाडी मर्दछन्, थोरै होस् अथवा धेरै, त्यसमा लोग्ने मानिसको अंश छ र आईमाईहरूको पनि । (यी अंशहरू) निर्धारित गरिएका हुन् ।

Verse 8 — Surah An-Nisa 4:8

र जब भाग–बण्डाको समय नातेदार र अनाथ र निमुखाहरू उपस्थित भइहालुन् त त्यसबाट उनीहरूलाई पनि केही दिहाल र उनीहरूसित मिठो कुरा गर ।

Verse 9 — Surah An-Nisa 4:9

र तिनीहरूलाई यस कुराबाट डराउनु पर्छ कि यदि आफ्नो पछाडि हानि पुग्न सक्ने अबोध केटाकेटीहरू छोडेर गएको भए (तिनीहरूको चाहना के हुने थियो) । त, आवश्यक छ कि यी मानिसहरू अल्लाहसँग डराएर संतुलित कुराहरू गरुन् ।

Verse 10 — Surah An-Nisa 4:10

जुन मानिसहरू अनाथहरूको सम्पति नाजायज तरिकाले खान्छन्, तिनीहरू आफ्ना पेटमा आगो भर्दैछन् र निकट भविष्यमा नर्कमा जाने छन् ।

Verse 11 — Surah An-Nisa 4:11

अल्लाहले तिम्रा सन्तानहरूको सम्बन्धमा तिमीलाई आदेश गर्दछ कि एउटा छोराको अंश दुईटा छोरीहरूको अंशको बराबर छ र यदि मृतकका छोरीहरू मात्र छिन् र दुईभन्दा बढी छिन् भने तिनलाई मृतकको सम्पत्तिबाट दुई तिहाई र यदि एउटी छोरी मात्र छिन् भने उसलाई आधा, र मृतकका आमा बाबु प्रत्येकलाई मृतकले छोडेको सम्पत्तिको छैठौं भाग अंश हो, मृतकका सन्तानहरू भएको खण्डमा । यदि मृतकको सन्तान नभए र मात्र आमा बाबु नै उसको हकवाला भएको अवस्थामा, एक तिहाई आमाको अंश र यदि मृत्तकका दाजुभाइ पनि छन् भने आमाको छैठौं अंश हो, मृतकको सम्पत्तिको यो अंशवण्डा मृतकले गरेको इच्छापत्रको कार्यान्वयन पछि मात्र वा मृतकले लिएको ऋणको भुक्तानी गरेपछि मात्र गर्नु पर्छ । तिमीलाई थाहा छैन कि तिम्रा बाबु वा छोरामध्ये तिमीलाई फाइदाको दृष्टिकोणले कुन चाहीँ धेरै नजिक छ । यी अंशभाग अल्लाहबाट निर्धारित गरिएका हुन् र निःसंदेह अल्लाह सर्वज्ञ र कौशलवाला छ ।

Verse 12 — Surah An-Nisa 4:12

जुन सम्पत्ति तिम्रा स्वास्नीहरू छोडेर मर्दछिन् यदि तिनका सन्तानहरू छैनन् भने, त्यसबाट आधा भाग तिम्रो हुनेछ र यदि उनको सन्तान छन् भने छाडेर गएको सम्पत्तिबाट तिम्रो भाग एक चौथाई हुन्छ । (तर यो विभाजन) मृत्तकको त्यस इच्छा पत्रको कार्यान्वयन पश्चात हो जुन उसले गरेर गएको छ र उसले लिएकी ऋण तिरिसकेपछि गरिने छ र जुन सम्पत्ति तिमी (पुरुषले) छाडेर मर्छौ र यदि तिम्रा सन्तानहरू छैनन् भने तिम्रा स्वास्नीहरूको त्यसबाट एक चौथाई भाग छ र यदि सन्तान छ भने तिनलाई आठौं भाग छ । (यी भागहरू) तिम्रो इच्छापत्रको कार्यान्वयन पश्चात हो जुन तिमीले गरेका छौ र ऋणको (भुक्तानी पछि) बाँडिने छन् । र यदि यस्तो पुरुष अथवा स्वास्नी मान्छेको सम्पत्ति छ, जसको न बाबु छ न छोरा उसको एक दाजु वा भाइ अथवा एक दिदी वा बहिनी छन् भने त्यसबाट प्रत्येकलाई छैठौं भाग हुन्छ र एकभन्दा बढी छन् भने सबै एक तिहाईमा सहभागी हुनेछन् । (यी अंशहरू पनि) इच्छापत्र पूरा भएपछि तथा ऋण तिरेपछि यो शर्तमा कि कसैलाई हानि नोक्सानी नपुगेको होस् । यो अल्लाहको तर्फबाट निर्धारित गरिएको हो र अल्लाह सर्वज्ञ तथा सहनशील छ ।

Verse 13 — Surah An-Nisa 4:13

यी सीमाहरू अल्लाहबाट निर्धारित गरिएका हुन् र जसले अल्लाह र उसको पैगम्बरको आज्ञा पालन गर्नेछ, उसलाई अल्लाहले जन्नतमा प्रवेश दिनेछ, जसमुनि नहरहरू बगिराखेका छन् । जसमा तिनीहरू सधैं बास गर्नेछन् र यो ठूलो सफलता हो ।

Verse 14 — Surah An-Nisa 4:14

र जसले अल्लाह र उसको रसूल (स.) को आज्ञा उल्लघंन गर्नेछ र उसबाट निर्धारित सीमाको अतिक्रमण गर्दछ, त्यसलाई अल्लाहले नर्कमा हाल्नेछ, जसमा कि ऊ सधैं रहनेछ र त्यस्तैलाई यो अपमानजनक सजाय हो ।

Verse 15 — Surah An-Nisa 4:15

यदि तिम्रा आईमाईहरूमध्ये कसैले व्यभिचार गर्दछिन भने त्यसको प्रमाणको निम्ति आफूमध्येबाट चार जनाको साक्ष्य प्रस्तुत गर । यदि तिनीहरूले गवाही दिन्छन् भने ती आईमाईहरूलाई मृत्यु नहुन्जेलसम्म घरैमा थुनिराख अथवा अल्लाहले तिनको लागि अर्को कुनै बाटो निकालोस् ।

Verse 16 — Surah An-Nisa 4:16

र तिमीहरूमध्ये जुन दुईजनाले यस्तो व्यभिचार गर्दछन्, तिनलाई कष्ट देऊ यदि तिनी पश्चाताप गरी असल मानिसहरूमा परिणत हुन्छन् भने तिनलाई छाडिदेऊ । निःसन्देह अल्लाह क्षमा याचनालाई स्वीकार गर्ने र कृपा गर्नेवाला हो ।

Verse 17 — Surah An-Nisa 4:17

अल्लाहले तिनको मात्र क्षमायाचना स्वीकार गर्दछ, जसले अज्ञानतावश कुनै दुष्कर्म गर्दछन् र छिट्टै त्यसलाई छोडेर पश्चाताप गरिहाल्छन् । तसर्थ यस्ता मानिसहरूको पश्चाताप अल्लाहले पनि स्वीकार गर्दछ अल्लाह सबै कुराको ज्ञानी र कौशलवाला हो ।

Verse 18 — Surah An-Nisa 4:18

र, यस्ता मानिसहरूको पश्चाताप (तौबा) स्वीकार हुँदैन जसले (निरन्तर) दुष्कर्म गर्दछन्, यहाँसम्म कि जब तिनीहरूमध्ये कसैको मृत्यु भइहाल्छ, अनि भन्दछ कि म पश्चाताप गर्दछु । र न त उनको पश्चाताप स्वीकार हुनेछ जो कुफ्रको अवस्थामा मर्दछन् । यिनै मानिसहरूका लागि हामीले कष्टदायक सजाय तयार गरिसकेका छौं ।

Verse 19 — Surah An-Nisa 4:19

ईमानवालाहरू हो ! तिमीहरूलाई यो उचित छैन कि जबरजस्ती स्वास्नी मानिसहरूको सम्पत्तिबाट लेऊ । जे तिमीले तिनलाई दिएका छौ, त्यसबाट केही खाने नियतले तिनलाई न रोकिराख्नु । हो यदि तिनले दुष्कर्म गर्दछिन् त कुरा अर्कै छ । तिनीहरूसित राम्रो व्यवहार गर यदि तिनीहरूलाई तिमीले मन नपराए पनि, तर धेरै सम्भव छ कि तिमीले नराम्रो मानेको कुनै कुरामा अल्लाहले धेरै भलाईको सृजना गरिदिओस् ।

Verse 20 — Surah An-Nisa 4:20

र, यदि तिमीले एउटी स्वास्नीको ठाउँमा दोस्रो स्वास्नी राख्न नै चाहन्छौ र तीमध्ये कसैलाई तिमीले ठूलो सम्पत्ति दिइसकेका छौ भने पनि त्यसबाट केही नलिनु । के तिमीले अनुचितरूपले वा खुल्लारूपले पाप हुने भएर पनि त्यसबाट फिर्ता लिनेछौ ।

Verse 21 — Surah An-Nisa 4:21

तिमी त्यसलाई कसरी लिने छौ ? यद्यपि तिमीहरूले एक अर्कालाई भेटिसकेका छौ र ती स्वास्नी मानिसहरूले तिमीबाट पूर्णरूपले वाचा लिइसकेका छिन् ।

Verse 22 — Surah An-Nisa 4:22

र जुन स्वास्नी मानिसहरूसँग तिम्रा बाबुहरूले विवाह गरेका छन्, तिनीहरूसँग निकाह नगर्नु, तर जे बितिसकेको छ त्यो निर्लज्जतापूर्ण काम र अप्रसन्न पार्ने कुरा र सा¥है घृणित परम्परा थियो ।

Verse 23 — Surah An-Nisa 4:23

तिम्रो लागि तिम्रा आमाहरू र छोरीहरू र दिदी बहिनीहरू र तिम्रा फूफूहरू र तिम्रा सानी आमा, ठूली आमाहरू र भतिजीहरू र भान्जीहरू र तिम्रा ती आमाहरू जसले कि तिमीलाई दूध ख्वाएका छिन्, र (रेजाई) दिदीबहिनीहरू र तिम्रा सासूहरू र तिमीले तिम्रो गोदमा लालन पालन गरेको छोरीहरू जुन संभोग गरेको महिलाबाट जन्मेका छिन् तिम्रो लागि वर्जित छिन् । हो यदि तिमीले तिनीहरूसँग (केटीको आमासँग) यौन सम्बन्ध गरेका छैनौ भने तिमीलाई कुनै गुनाह छैन, र तिम्रा साख्खै छोराहरूका स्वास्नीहरू पनि र दुई दिदी बहिनीहरूलाई एकैसाथ बिहे गर्नु पनि त्याज्य छ । तर विगतमा जे भयो भइसक्यो । निःसन्देह अल्लाह क्षमा गर्नेवाला र दयावान छ ।

Verse 24 — Surah An-Nisa 4:24

र विवाहित स्त्रीहरू पनि (वर्जित छिन्) तर ती बाहेक जुनकि (दासीको रूपमा) तिम्रो अधिकारमा आउँछिन् । यो आदेश अल्लाहको तर्फबाट तिम्रोलागि अनिवार्य गरिएको हो र यी वर्जित स्त्रीहरू बाहेक अन्य स्त्रीहरू तिम्रो लागि हलाल छिन्, आफ्नो धनबाट महर दिएर तिनीहरूसँग विवाह गर्न चाहन्छौ भने, तर यो शर्तमा निकाहको उद्देश्य दुराचारबाट बच्नु हुनुपर्छ न कि वासनाको पूर्तिको निम्ति । तसर्थ जुन स्त्रीहरूसँग तिमीले लाभ प्राप्त गर्दछौ, तिनलाई महरमा निर्धारित गरिएको धन दिइहाल र यदि महर निर्धारित गरिसकेपछि आपसी सहमतिबाट अन्यथा तय गर्दछौ भने त्यसमा तिमीलाई कुनै पाप लाग्दैन । निःसन्देह अल्लाह सबै कुराको ज्ञाता छ (र) सम्पूर्णरूपले तत्वज्ञ छ ।

Verse 25 — Surah An-Nisa 4:25

र तिमीहरूमध्ये जुन मानिससलाई स्वतन्त्र मुसलमान स्त्रीसँग निकाह गर्ने पूरा क्षमता छैन, त्यसले मुसलमान दासीसँगै, जोकी तिम्रा अधिकारमा आइसकेकाछिन्, निकाह गरिहालोस् र अल्लाहलाई तिम्रो ईमानबारे राम्ररी थाहा छ ! तिमीहरू एक आपसमा सजातीय हौ, तसर्थ ती दासीहरूसँग, तिनका मालिकहरूबाट अनुमति प्राप्त गरी निकाह गरिहाल र निर्धारित गरिए बमोजिम तिनका महर पनि दिइहाल तर यो शर्त छ कि तिनीहरू पवित्र हुनुपर्दछ न कि व्यभिचारीणी, जसले खुल्लम खुल्ला वा लुकिछिपी अन्य व्यक्तिहरूसँग सम्बन्ध स्थापित गर्दछिन् । तर यदि निकाह भइसकेपछि तिनीहरू ब्यभिचार गर्दछिन भने जुन स्वतन्त्र स्त्रीहरूलाई छ, त्यसको आधा तिनीहरूलाई सजाय दिनुपर्दछ । (दासी संग निकाह गर्ने) यो अनुमति उस व्यक्तिलाई छ जसलाई व्यभिचार गरिहाल्ने भय छ । र तिमीले धैर्य राख्नु धेरै राम्रो छ, र अल्लाह क्षमादाता र अत्यन्त दयावान छ ।

Verse 26 — Surah An-Nisa 4:26

अल्लाह चाहन्छ कि (आफ्ना आयतहरू) तिम्रो सामु अति स्पष्ट रूपमा वर्णन गरोस् र तिमीलाई तिमीभन्दा अगाडिका संयमीहरूकै बाटोमा हिडाओस् र तिम्रो पश्चाताप स्वीकार गरोस् र अल्लाह सर्वज्ञ छ (र) सर्वबुद्धि सम्पन्न छ ।

Verse 27 — Surah An-Nisa 4:27

र अल्लाह चाहन्छ कि तिम्रो पश्चाताप स्वीकार गरोस् र जुन मानिसहरू आफ्नै स्वार्थपूर्ण चाहनाबाट दोषित हुन्छन्, तिनीहरू चाहन्छन् कि तिमी आफ्नो सत्य मार्गबाट धेरै विचलित भइहाल ।

Verse 28 — Surah An-Nisa 4:28

अल्लाह चाहन्छ कि तिमीहरूमाथिको भार हलुको पारोस्, किनभने मानिस कमजोर सृष्टि गरिएको हो ।

Verse 29 — Surah An-Nisa 4:29

हे मोमिनहरू ! तिमीहरू आपसमा एक अर्काको सम्पत्ति अनुचितरूपमा नखाऊ । तर आपसी सहमतिले व्यापारको माध्यमबाट लेनदेनमा लाभ जायज हुन्छ, र आफूलाई आफै नमार । यसमा कुनै सन्देह छैन कि अल्लाह तिमीमाथि धेरै कृपालु छ ।

Verse 30 — Surah An-Nisa 4:30

यदि कसैले यस्तो अटेरिपन र अत्याचार गर्छ भने हामीले त्यसलाई शीघ्र नै नर्कको आगोमा हाल्ने छौं । यो अल्लाहको लागि अति सरल काम हो ।

Verse 31 — Surah An-Nisa 4:31

यदि तिमीहरू यी ठूला–ठूला पापहरू जुन तिम्रो लागि निषेधित गरिएका छन्, बच्ने गर्छौ भने हामी तिम्रा स–साना पापहरू माफ गरिदिनेछौं र तिमीलाई सम्मान र आदरको ठाउँमा प्रवेश गराउने छौं ।

Verse 32 — Surah An-Nisa 4:32

र जुन कुरामा अल्लाहले तिमीहरूमध्ये केहीलाई केहीमाथि श्रेष्ठता प्रदान गरेको छ, त्यसको लागि लोभ नगर । पुरुषहरूलाई तिनीहरूले गरेको कर्म अनुसार प्रतिफल निर्धारित छ, र स्त्रीहरूलाई तिनीहरूको कर्म अनुसार फल प्रदान गरिनेछ, र अल्लाहसित उसको कृपा माँग्दै गर । निःसन्देह अल्लाह प्रत्येक कुरो जान्दछ ।

Verse 33 — Surah An-Nisa 4:33

र जुन सम्पत्ति आमा–बाबु र नातेदार छोडेर मर्दछन्, त्यसबाट हामीले प्रत्येकको हक निर्धारित गरिसकेका छौं र जुन मानिसहरूसित तिमीले आफै करार गरिसकेका छौ, तिनीहरूलाई तिनको हक देऊ । निःसन्देह अल्लाह सम्पूर्ण कुराहरूको साक्षी छ ।

Verse 34 — Surah An-Nisa 4:34

पुरुषहरू स्त्रीहरूका संरक्षक–संवर्धक हुन् यस कारण कि एकलाई अल्लाहले अर्काेमाथि प्रधानता प्रदान गरेको छ र यसकारणले पनि कि पुरुषहरूले आफ्ना माल खर्च गरेका छन् । अतः जो सत्यवती र आज्ञाकारिणी स्वास्नी छिन्, तिनीहरूले आफ्नो पतिको अनुपस्थितिमा अल्लाहको रक्षामा तिनको मर्यादाको रेखदेख गर्दछिन्, र जुन स्वास्नीहरूको सम्बन्धमा तिमीलाई नराम्रो व्यवहारको डर लाग्दछ भने तिनलाई सर्वप्रथम सम्झाऊ । (यदि मान्दैनन् भने) तिनीलाई सुत्ने ओछ्यानबाट अलग गरिहाल । यदि तैपनि मान्दैनन् भने उचित शारीरिक दण्ड देऊ । फेरि यदि आज्ञापालन गर्न थाल्छिन् भने तिनलाई कष्ट दिने निहु नखोज । निःसन्देह अल्लाह सर्वोच्च र महानतम प्रशंसनीय छ ।

Verse 35 — Surah An-Nisa 4:35

यदि तिमीलाई लोग्ने स्वास्नीबीच वाद– विवादको भय छ, भने एउटा मध्यस्थकर्ता लोग्नेको तर्फबाट र एउटा मध्यस्थ स्वास्नीको खलकबाट नियुक्त गर । यदि यी दुवैले मेलमिलाप गराउन चाहन्छन् भने अल्लाहले दुवैमा मेलमिलाप कायम गराइदिन्छ । कुनै सन्देह छैन कि अल्लाह सर्वज्ञाता र सर्वलौकिक छ ।

Verse 36 — Surah An-Nisa 4:36

र अल्लाहकै पूजा गर र उसको साथमा अरु कसैको साझेदारी नगर र आमा–बाबुसँग सम्मानपूर्ण व्यवहार गर र नजिकका नातेदार, अनाथहरू र गरिब असहायहरू र नातेदार छिमेकीहरू र गैर नातेदारी छिमेकीहरू र संगै उठ्बस् गर्ने साथीहरू र बटुवाहरू र जो तिम्रो स्वामित्वमा छन्, सबैको उपकार गर । निःसन्देह अल्लाहले घमण्डी तथा मिथ्या अभिमान गर्नेहरूलाई रुचाउँदैनन् ।

Verse 37 — Surah An-Nisa 4:37

जिनीहरूले आफू स्वयं कञ्जूसी गर्दछन् र अरुलाई पनि कञ्जूसी सिकाउँछन् र जुन धन सम्पत्ति अल्लाहले आफ्नो कृपाले प्रदान गरेको छ, त्यसलाई लुकाएर राख्दछन् । हामी कृतध्नहरूका लागि अपमानजनक सजाय तयार गरेका छौं ।

Verse 38 — Surah An-Nisa 4:38

र, जुन मानिस खर्च त गर्दछन् तर मानिसहरूलाई देखाउनको निम्ति, र आस्था न अल्लाहमाथि राख्दछन् न त कियामतको दिनमाथि र जुन मानिसहरूको साथी शैतान हुन्छ, र त्यो एकदमै नराम्रो साथी हो ।

Verse 39 — Surah An-Nisa 4:39

साँच्चै यिनीहरूको के बिग्रन्थ्यो यदि तिनीहरूले अल्लाह र कियामतको दिनमाथि आस्था राखेको भए र अल्लाहले जे जति प्रदान गरेको छ, त्यसमध्येबाट खर्च गरेको भए ? र अल्लाहले तिनीहरूलाई राम्ररी जान्दछ ।

Verse 40 — Surah An-Nisa 4:40

यसमा कुनै शंका छैन कि अल्लाह कसैसित अलिकति पनि अन्याय गर्दैन, यदि पुण्य कार्य गरिएको छ भने त्यसलाई दुई गुणा गरिदिन्छ र आफ्नो तर्फबाट ठूलो पुरस्कार प्रदान गर्दछ ।

Verse 41 — Surah An-Nisa 4:41

त, त्यस दिन कस्तो दृष्य हुनेछ जब हामीले प्रत्येक समूहबाट एक–एक साक्षी बोलाउनेछौं र तपाईलाई उनीहरूको बारेमा साक्षी बनाउने छौं ।

Verse 42 — Surah An-Nisa 4:42

त्यस दिन अल्लाहमाथि आस्था नराख्नेहरू र पैगम्बरका अवज्ञाकारीहरूले चाहनेछन् कि तिनीलाई धर्तीमा गाडि माटोले पुरिदिए हुन्थ्यो । किनभने अल्लाहसित कुनै कुरा लुकाउन सक्ने छैनन् ।

Verse 43 — Surah An-Nisa 4:43

हे मोमिनहरू ! जब तिमी नशाको अवस्थामा हुन्छौ त नमाज छेउ पनि नजाऊ जबसम्म तिमी आफ्नो मुखबाट उच्चारित शब्दहरू बुझ्न थाल्दैनौ र अपवित्राताको अवस्थामा स्नान नगरेसम्म पनि नमाज नपढ । तर यदि यात्रा गरिराखेको भए कुरा अर्कै छ, र यदि तिमी विरामी छौ अथवा यात्रामा छौ वा तिमीमध्ये कोही शौचबाट आएको छ अथवा तिमीले स्वास्नीसँग सहवास गरेका छौ र तिमीलाई पानी उपलब्ध छैन भने पवित्र माटो लिई मुख र हातमा स्पर्श गरेर तयम्मुम गरी (नमाज पढिहाल) । निःसन्देह अल्लाह त्रुटिहरू माफ गर्नेवाला तथा क्षमादाता छ ।

Verse 44 — Surah An-Nisa 4:44

के तिमीले तिनीहरूलाई देखेनौ जसलाई कि किताबको केही अंश प्रदान गरिएको छ ? तिनीहरूले पथभ्रष्टता किनिरहेका छन्, र चाहन्छन् कि तिमी पनि पथविचलित भइहाल ।

Verse 45 — Surah An-Nisa 4:45

अल्लाह तिम्रा शत्रुहरूलाई राम्ररी जान्दछ, र अल्लाहको मित्रता नै प्रयाप्त छ, र अल्लाहको सहायता नै पर्याप्त छ ।

Verse 46 — Surah An-Nisa 4:46

केही यहूदीहरूले (अल्लाहले भनेका) शब्दहरूलाई तिनका ठीक ठाउँबाट परिवर्तित गरिदिन्छन् र भन्दछन् कि हामीले सुन्यौ र मानेनौं र (हाम्रो) सुन ! र तिम्रो न सुनिएकै अवस्थामा । र हाम्रो ध्यान राख तर यो भन्दा आफ्नो जिब्रो बटारी धर्ममा खिसी गर्दछन् र यदि यिनीहरूले भनेको भए कि हामीले सुन्यौं र मानिहाल्यौ र तपाई सुन्नुस् र हामीलाई हेर्नुस् त यो तिनिहरूको निम्ति धेरै राम्रो र उचित पनि हुन्थ्यो । तर अल्लाह तिनीहरूको कुफ्रको कारण तिनीहरूलाई अभिशप्त गरिहालेको छ तसर्थ थोरैले मात्र आस्था राख्दछन् ।

Verse 47 — Surah An-Nisa 4:47

हे किताबवालाहरू हामीले जे उतारेका छौ जसले तिम्रो पासमा जो छ त्यसको पनि पुष्टि गर्दैछ, त्यसमाथि ईमान ल्याऊ । यसभन्दा अगाडि कि हामीले मानिसहरूको अनुहार बिगारी तिनलाई पिठ्युँतिर फर्काइदिऊँ अथवा तिनीहरूलाई अभिशप्त गरौं जस्तो कि शनिबारवालाहरूलाई अभिशप्त गरेका थियौ, अल्लाहले जुन कुराको आदेश दियो त्यो भएर नै रहन्छ ।

Verse 48 — Surah An-Nisa 4:48

निःसन्देह अल्लाह आफ्नो साझेदार बनाउनेलाई क्षमा गर्ने छैन र उस बाहेक अन्य जसलाई चाहन्छ माफ गरिदिन्छ र जसले उसँग कसैको साझेदारी ठहराउँछ, त्यसले जघन्य अपराध गर्दछ ।

Verse 49 — Surah An-Nisa 4:49

के तिमीले तिनीहरूलाई देखेनौ जसले कि आफूलाई पवित्र ठान्दछन् । बरु अल्लाहले जसलाई चाहन्छ पवित्र गर्दछ र कसैमाथि सूत बराबर पनि अन्याय हुनेछैन ।

Verse 50 — Surah An-Nisa 4:50

हेर, यिनीहरू अल्लाहमाथि कस्तो प्रकारले दोषारोपण गर्दछन् र यो क्रिया स्वयम् खुल्लारूपमा पाप हुन पर्याप्त छ ।

Verse 51 — Surah An-Nisa 4:51

के तिमीले तिनीहरूलाई देखेनौ जसलाई किताबको केही अंश दिइएको छ ? जसले मूर्ति र शैतानलाई मान्दछन् र काफिरहरूको पक्षमा बोल्छन् कि यिनीहरू मोमिनहरूको दाँजोमा बढी सही मार्गमा छन् ।

Verse 52 — Surah An-Nisa 4:52

यी तिनै मानिसहरू हुन् जसमाथि अल्लाहको अभिशाप छ । र जसलाई अल्लाह अभिशप्त गर्यो, उसको कसैलाई पनि सहायता गर्नेवाला पाउने छैनौ ।

Verse 53 — Surah An-Nisa 4:53

के तिनीहरूको राजकाजमा केही भाग छ ? यदि त्यसो भए त तिनीहरूले कसैलाई खजूरको कोयाको खोटो जति पनि दिने छैनन् ।

Verse 54 — Surah An-Nisa 4:54

अथवा अल्लाहले मानिसहरूलाई आफ्नो कृपाले जे प्रदान गरेको छ त्यसमाथि यिनीहरूले ईष्र्या गर्दछन्, तर हामीले इब्राहीमको वंशजलाई अघि नै किताब र बुद्धि प्रदान गरेका थियौं र ठूलो राज्यसत्ता पनि दिएका थियौं ।

Verse 55 — Surah An-Nisa 4:55

फेरि तिनीहरूमध्ये केहीले त किताबलाई माने तर केहीले इन्कार गरेर टाढा नै रहे, र तिनीहरूलाई नर्कमा जलिरहनु नै पर्याप्त छ ।

Verse 56 — Surah An-Nisa 4:56

जुन मानिसहरूले हाम्रा आयतहरूलाई नकारेका छन्, तिनलाई हामीले निश्चय नै आगोमा हाल्ने छौं । जब जब तिनका छालाहरू पोलिसक्ने छन्, हामीले अर्कै छाला फेर्नेछौं जसले कि तिनीहरू सजायको स्वाद चाखिराखुन् । निःसन्देह अल्लाह सर्वशक्तिमान र बुद्धिमत्ता सम्पन्न छ ।

Verse 57 — Surah An-Nisa 4:57

र जुन मानिसहरूले ईमान ल्याएर सत्कर्म गर्दछन्, तिनीहरूलाई हामीले चाँडै वहिश्तमा (स्वर्ग) प्रवेश गराउँछौ जसको धारामुनि नहरहरू बगिराखेका हुन्छन् । तिनीहरू त्यसमा सधैंका लागि बास पाउनेछन् । त्यहाँ तिनीहरूका लागि पवित्र स्वास्नीहरू हुनेछिन् र हामीले तिनलाई छायाकुञ्ज र शीतल छहारीमा प्रवेश दिनेछौं ।

Verse 58 — Surah An-Nisa 4:58

अल्लाह तिमीलाई आदेश गर्दछ कि नासोवालाहरूलाई तिनको नासो पुर्याऊ र मानिसहरूको कुरोमा निर्णय गर्दा, न्यायपूर्ण ढंगले फैसला गर । निःसन्देह त्यो राम्रो कुरा हो जसको नसीहत (उपदेश) अल्लाहले तिमीलाई गर्दैछ । निःसन्देह अल्लाह सबै कुरा सुन्दछ र सबै देख्दछ ।

Verse 59 — Surah An-Nisa 4:59

हे मोमिनहरू ! अल्लाहको आदेश पालना गर र उसका रसूलका आदेशहरूको पालना गर र तिमीहरूमध्ये अधिकार भएकाहरूको । फेरि यदि तिमीहरूमा आपसी मतभेद भएको अवस्थामा, यदि तिमी अल्लाह र आखिरतको दिनमाथि ईमान राख्दछौ भने त्यस कुरालाई अल्लाह र त्यसका रसूलतिर फर्काइदेऊ यो साह्रै राम्रो कुरा हो, र यसको परिणाम पनि राम्रो हुन्छ ।

Verse 60 — Surah An-Nisa 4:60

के तपाईले तिनीहरूलाई देखनु भएन ? जसले दावी त गर्दछन् कि जुन (ग्रन्थहरू) तपाईलाई प्रदान गरिएको छ र जुन ग्रन्थहरू तपाईभन्दा पहिला उतारिएका थिए ती सबैमा तिनले ईमान राख्दछन् तर वास्तवमा तिनीहरूले आफ्ना विवादका कुराहरू निसाफको लागि अल्लाह बाहेक अन्यतिर लग्न चाहन्छन्, जबकि तिनलाई आदेश गरिएको थियो कि शैतानलाई विश्वास नगरुन् र शैतानले चाहन्छ कि तिनलाई सही मार्गबाट विचलित गराइहालोस् ।

Verse 61 — Surah An-Nisa 4:61

र जब तिनीहरूलाई भन्निछ कि अल्लाहले जे आदेश गरेको छ त्यतातिर र पैगम्बर (स.) तिर लाग, त तिमीले देख्नेछौ कि मुनाफिकहरूले (कपटीहरुले) आफ्ना मुख फर्काई अर्कैतिर लाग्दछन् ।

Verse 62 — Surah An-Nisa 4:62

तसर्थ यो कस्तो कुरा हो कि तिनीहरूमाथि कुनै प्रकारको विपत्ति आइपरे पछि तिनीहरूले तपाई समक्ष आएर अल्लाहको शपथ खान्छन् कि हाम्रो उद्देश्य त सौहार्द र सम्झौता बाहेक अरु केही थिएन ।

Verse 63 — Surah An-Nisa 4:63

यी ती मानिस हुन् कि तिनका हृदयहरूमा जे जति छ, त्यो सबै अल्लाह राम्ररी जान्दछ । तपाईले तिनीहरूलाई नदेखे जस्तो गर्नुस् र तिनलाई नसीहत दिदै गर्नुस् र यस्ता कुरा भन्नुस् जसले कि तिनका हृदयमा प्रभाव पारोस् ।

Verse 64 — Surah An-Nisa 4:64

हामीले प्रत्येक सन्देष्टालाई यसकारण पठायौं कि अल्लाहको आज्ञा अनुसार उसको आज्ञापालन गरियोस् । तिनीहरूले जब आफूप्रति नै अन्याय गरिरहेका थिए, तपाईतिर आएर पश्चाताप गरेको भए र अल्लाहसँग क्षमायाचना गरेको भए र रसूलले पनि तिनीहरूको निम्ति माफीको याचना गरेको भए, अल्लाहलाई क्षमादाता र अत्यन्त दयालु पाउने थिए ।

Verse 65 — Surah An-Nisa 4:65

यसर्थ तिम्रो रबको शपथ लिन्छु कि, यिनीहरू जबसम्म आफ्ना सम्पूर्ण विवादमा तपाईलाई इन्साफकर्ता स्वीकार गर्दैनन् र तपाईले गरेको निर्णयप्रति हृदयमा कुनै संकुचित विचार नराखी प्रसन्नतापूर्वक त्यसलाई अंगीकार गर्दैनन्, तबसम्म मोमिन (आस्थावान) हुन सक्दैनन् ।

Verse 66 — Surah An-Nisa 4:66

र यदि हामीले तिनीहरूलाई आफ्नो जीवनको बलि दिन अथवा आफ्नो घर छोड्न आदेश दिएको भए तिनीहरूमध्ये केहीले मात्र त्यस्तो गर्ने थिए । तर यदि तिनीहरूले त्यो आदेश जुनकि तिनीहरूलाई दिइएको थियो पालन गरेको भए तिनीहरूको निम्ति यही सर्वोत्तम हुने थियो र तिनीहरूको लागि धेरै धेरै सघाउ पुग्ने थियो ।

Verse 67 — Surah An-Nisa 4:67

र तब त हामीले आफ्नो तर्फबाट तिनीहरूलाई ठूलो पुरस्कार दिने थियौं ।

Verse 68 — Surah An-Nisa 4:68

र निःसन्देह सही बाटो पनि देखाउने थियौं ।

Verse 69 — Surah An-Nisa 4:69

जुन मानिसहरू अल्लाह र उसको रसूल(स.)को आज्ञापालन गर्दछन्, तिनीहरू ती मानिसहरूको साथमा हुनेछन् जसलाई कि अल्लाहले पुरस्कृत गरेको छ । उदाहरणको लागि नबी र सत्यनिष्ठ र शहीद र सत्यकर्मीहरू । यिनीहरू सर्वोत्तम साथी हुन् ।

Verse 70 — Surah An-Nisa 4:70

यो अल्लाहको दानशीलता हो ! र यो पर्याप्त छ कि अल्लाह सबै कुराको ज्ञाता छ ।

Verse 71 — Surah An-Nisa 4:71

हे मोमिनहरू ! आफ्नो रक्षाको साधन लिइहाल, अनि त्यसपछि समूह–समूहमा प्रस्थान गर अथवा सबै एकै साथमा निस्किहाल ।

Verse 72 — Surah An-Nisa 4:72

र निश्चयनै तिमीमध्ये कोही यस्तो पनि छ जो जाउँ कि नजाउँ जस्तो गर्दछ, फेरि यदि तिमीमाथि कुनै कष्ट आइपर्दछ भने भन्दछ कि अल्लाहले ममाथि ठूलो कृपा गरेको छ कि म तिनीहरूको साथमा उपस्थित थिएन ।

Verse 73 — Surah An-Nisa 4:73

र यदि अल्लाह तिमीमाथि कृपा गर्दछ भने यस्तो भन्दछ कि उनको र तिम्रो कुनै मित्रता नै थिएन, पश्चाताप गर्दै भन्दछ कि यदि म पनि तिनीहरूको साथमा गएको भए ठूलो सफलता प्राप्त हुने थियो ।

Verse 74 — Surah An-Nisa 4:74

तसर्थ जसले संसारिक जीवनलाई आखिरतको जीवनका लागि बेचेका छन्, तिनीहरूलाई आवश्यक छ कि अल्लाहको मार्गमा युद्ध गरुन् र जो मानिस अल्लाहको मार्गमा युद्ध गर्दै शहीद हुन्छ अथवा विजयी हुन्छ निश्चय नै हामीले उसलाई बहुमूल्य पुरस्कार प्रदान गर्नेछौं ।

Verse 75 — Surah An-Nisa 4:75

आखिर के कारण छ कि अल्लाहको मार्गमा, ती निःसहाय लोग्ने मानिसहरू, र स्वास्नी मानिसहरू र बच्चाहरू मुक्त गराउनका लागि तिमी युद्ध गर्दैनौ ? जसले प्रार्थना गर्ने गर्दछन् कि हे रब ! हामीलाई अत्याचारीहरूको शहरबाट निकालिहाल र हाम्रो निम्ति आफ्ना विशेष रक्षक नियुक्त गर र हाम्रो निम्ति खास आफ्नैतर्फबाट सहयोगी बनाइदेऊ ।

Verse 76 — Surah An-Nisa 4:76

जुन मानिसहरूले ईमान ल्याएका छन् तिनीहरूले अल्लाहको मार्गमा युद्ध गर्दछन् र जो काफिर छन् तिनीहरूले अल्लाह बाहेक अरुको मार्गमा युद्ध गर्दछन् । तसर्थ तिमीहरू शैतानका सहयोगीहरूको विरुद्ध युद्ध गर, विश्वास गर कि शैतानको षड्यन्त्र अति कमजोर छ ।

Verse 77 — Surah An-Nisa 4:77

के तिमीले तिनीहरूलाई देखेनौ जसलाई आदेश भएको थियो कि आफ्ना हात धर्मयुद्धबाट रोक र नमाज पढ्दै र जकात दिंदै गर । पछि जब धर्मयुद्ध गर्ने आदेश जारी गरियो त तिनीहरूमध्ये एउटा समूह मानिसहरूसंग यस्तो तर्सन थाले जस्तो कि अल्लाहको डर हो बरु त्यसभन्दा पनि बढ्ता र भन्न थाले कि हे हाम्रो अल्लाह तिमीले हामीमाथि जिहाद किन अनिवार्य गरिहाल्यौ ? केही समय अझै हामीलाई हाम्रो जीवन जिउन किन दिएनौ ? (हे पैगम्बर ! तिनीहरूसित) भनिदिनुस् कि संसारको लाभ बहुतै कम छ र परहेजगारको निम्ति त सबभन्दा राम्रो कुरा आखिरत नै हो र तिमीमाथि एउटा धागो जतिको पनि अन्याय गरिने छैन ।

Verse 78 — Surah An-Nisa 4:78

तिमी जुन ठाउँमा भए पनि मृत्यु आएर तिमीलाई समातिहाल्छ, चाहे तिमी बलियो किल्लामा नै किन नबस । यदि तिनीहरूलाई कुनै फाइदाजनक कुरा प्राप्त हुन्छ भने भन्दछन् कि यो अल्लाहको तर्फबाट हो र यदि कुनै कष्ट पुग्दछ भने पुकारीहाल्छन् कि यो तिम्रो कारणले हो । भनिदेऊ कि सबै अल्लाहको तर्फबाट नै हो, यिनीहरूलाई के भएको छ कि कुनै कुरा बुझ्ने नजिक पनि छैनन् ।

Verse 79 — Surah An-Nisa 4:79

तिमीलाई जुन भलाई प्राप्त हुन्छ, त्यो अल्लाहबाटै हो र जे नराम्रो हुन्छ त्यो तिम्रै आफ्नै कारणले आउँछ । हामीले तपाईलाई सबै मानिसहरूसम्म सन्देश पुर्याउनका लागि पैगम्बरको रूपमा पठाएका छौं र (यस कुराको) साक्षी अल्लाह नै पर्याप्त छ ।

Verse 80 — Surah An-Nisa 4:80

जुन मानिसले रसूल(स.)को आज्ञापालन गर्दछ, उसैले अल्लाहको आज्ञापालन गरे सरह मानिन्छ र जसले आज्ञा उल्लंघन गर्दछन् र विमुख हुन्छन् हे पैगम्बर(स.) ! तपाईलाई यिनीहरूमाथि रक्षक बनाई पठाइएको छैन ।

Verse 81 — Surah An-Nisa 4:81

यी मानिसहरू मुखले त भन्दछन् कि (तपाईको) आज्ञाकारी हौं, तर तपाईबाट अलग भएर गइसकेपछि तिनीहरूमध्ये एक समूहले रातिमा तपाईको कुराको विरोधमा सरसल्लाह गर्दछन् । र अल्लाहले उनीहरूको रातीका कुराहरू लेखिराखेको छ । तसर्थ यिनीहरूको वास्ता नगर्नुस् र अल्लाहमाथि भरोसा गर्नुस् र अल्लाह नै सबै काम पुरा गर्न सक्षम छ ।

Verse 82 — Surah An-Nisa 4:82

के यिनीहरू कुरआनमा चिन्तन–मनन् गर्दैनन् ? यदि यो अल्लाह बाहेक अरु कसैको तर्फबाट भएको भए त्यसमा निःसन्देह (धेरै) विरोधाभाषपूर्ण कुराहरू पाउने थिए ।

Verse 83 — Surah An-Nisa 4:83

जब तिनीहरूकहाँ अमन वा भयको कुनै समाचार आउँछ भने त्यसलाई प्रसारित गर्न थाल्छन् जब कि त्यो समाचारलाई पैगम्बर (स.) र आफ्ना बुद्धिजीविहरूकहाँ सुम्पेको भए त उनीहरूले परिाणाम निकालिएको कुराको तथ्य थाहा पाउँदथे । र यदि तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए त केही बाहेक सबै शैतानका अनुयायी हुने थिए ।

Verse 84 — Surah An-Nisa 4:84

तसर्थ (हे मुहम्मद स. !) तपाई अल्लाहको मार्गमा धर्मयुद्ध गर्नुस् । तपाई उपर आफू बाहेक अरु कसैको जिम्मेवारी छैन र मोमिनहरूलाई पनि प्रोत्साहित गर्ने गर्नु । सम्भव छ कि निकट भविष्यमै अल्लाहले काफिरहरूको युद्ध रोकिदेओस् र अल्लाह सर्वशक्ति सम्पन्न र कठोर सजाय दिनेवाला छ ।

Verse 85 — Surah An-Nisa 4:85

जुन व्यक्तिले असल कामको लागि सिफारिश गर्दछ, उसले पनि त्यसबाट केही भाग प्राप्त गर्नेछ र जसले नराम्रो कुराको सिफारिश गर्नेछ उसले त्यसको केही अंश पाउनु पर्नेछ । र अल्लाह प्रत्येक कुरोमाथि सर्वशक्ति सम्पन्न छ ।

Verse 86 — Surah An-Nisa 4:86

र जब कुनै व्यक्तिले तिमीलाई सलाम गरोस् त तिमीले पनि त्योभन्दा राम्रो शब्दमा जवाफ देऊ वा तिनै शब्दमा सलाम फर्काऊ । निःसन्देह अल्लाह सबै हिसाब गर्नेवाला छ ।

Verse 87 — Surah An-Nisa 4:87

अल्लाह त्यो वास्तविक रब हो जस बाहेक अरु कोही पूजा योग्य छैन । उसले निःसन्देह कियामतको दिन तिमी सबैलाई एकत्रित गर्नेछ जसको आउनुमा कुनै शंका छैन । र अल्लाहभन्दा बढी सच्चा को छ

Verse 88 — Surah An-Nisa 4:88

तिमीहरूलाई के भएको छ कि तिमी मुनाफिकहरूको सम्बन्धमा दुई समूहमा विभाजित भइरहेका छौ । अल्लाहले तिनीहरूलाई तिनकै क्रियाकलापले गर्दा तिरस्कृत गरिहालेको छ । के तिमीहरूले अब यो योजना बनाउँदैछौ कि जसलाई अल्लाहले वास्तविक बाटोबाट टाढा फ्याँकिसकेको छ उसलाई तिमीहरूले सही बाटोमा ल्याउने छौ ? जसलाई अल्लाहले मार्गभ्रष्ट गरिसक्यो त्यसलाई तिमीले कहिल्यै सही बाटोमा ल्याउन सक्दैनौ ।

Verse 89 — Surah An-Nisa 4:89

तिनीहरूले त यो चाहन्छन् कि जुन प्रकारले तिनीहरू आफै काफिर छन्, त्यस्तै तिमी पनि अवज्ञाकारी भई सबै एकनास भइहाल, तसर्थ जबसम्म अल्लाहको मार्गमा यिनीहरू प्रवास (हिजरत) गर्दैनन तबसम्म तिनीहरूमध्ये कसैलाई वास्तविक मित्र नबनाउनु । फेरि विरोधी भएपछि जहाँ फेला पर्छन्, समातेर मारिहाल र तिनीहरूमध्ये कसैलाई आफ्नो हितैषी र साथी नबनाऊ ।

Verse 90 — Surah An-Nisa 4:90

तर ती मानिसहरू बाहेक जसले कि यस्तो समूहसँग जसको र तिम्रो बीचमा सम्झौता भइसकेको छ, अथवा तिनिहरू तिमीनिर यसरी आएका छन् कि तिनीहरूका हृदय तिमीसँग अथवा आफ्नो समूहसँग युद्ध गर्न सक्दैनन् र यदि अल्लाहले चाहेको भए तिनीहरूले तिमीमाथि वर्चस्व राख्न सक्दथे र तिनीहरूले अवश्य नै युद्ध गर्दथे । तसर्थ यदि तिनीहरूले तिमीसँग युद्ध गर्नुबाट पन्छिन्छन् र तिमीकहाँ (शान्ति) सम्झौताको सन्देश पठाउँछन् भने अल्लाहले तिम्रो निम्ति तिनीहरूसँग युद्ध गर्न कुनै बाटो खोलेको छैन ।

Verse 91 — Surah An-Nisa 4:91

तिमीले केही अन्य यस्ता मानिसहरू पनि पाउने छौ जो चाहन्छन् कि तिमीसित पनि शान्तिपूर्वक रहुन् र आफ्नो कौममा (जातिमा) पनि सुरक्षित रहुन् तर जब दंगा फसाद उत्पन्न गर्न बोलाइन्छन् त त्यसमा आकृष्ट भई सक्रिय भइहाल्छन् । तसर्थ यस्ता मानिसहहरू यदि तिमीसित संयम नअपनाई तिमीतिर शान्तिका लागि संवाद गर्दैनन् र आफ्ना हातलाई रोक्दैनन् भने जहाँ पाए पनि तिनलाई समातेर मार । यी तिनै हुन् जसमाथि हामीले तिम्रो अधिपत्य (वर्चस्व) निश्चित गरेका छौं ।

Verse 92 — Surah An-Nisa 4:92

कुनै मोमिनले अर्को मोमिनलाई मार्नु कुनै अवस्थामा पनि उचित छैन, तर गल्तीबाट मारिहालेको छ भने अर्को कुरा हो र कसैले भूलबाट मार्दछ भने अल्लाहको आदेश छ कि त्यसले एउटा मुसलमान दासलाई मुक्त गरोस् र साथै मृतकका उत्तराधिकारीहरूलाई रगत बगाए बापतको क्षतिपूर्ति रकम दिइयोस् । तर हो, यदि तिनीहरूले माफ गरिदिन्छन् भने यो उनीहरूको आफ्नो इच्छाको कुरो हो । यदि मारिएको मानिस तिम्रा शत्रुको समूहको छ र त्यो स्वयं मोमिन छ भने एउटा मुसलमान गुलामलाई मुक्त गर्नुपर्दछ र यदि मारिएको व्यक्ति यस्ता मानिसहरूमध्येको छ जोसँग तिम्रो कुनै मैत्रि सन्धि छ भने उसको उत्तराधिकारीहरूलाई रगतको क्षतिपूर्ति रकमका साथै एउटा मुसलमान दासलाई मुक्त गर्नुपर्छ । अतः जसलाई साधन र क्षमता छैन, तिनीहरूले अनिवार्यरूपले दुई महिनाको व्रत बस्नु पर्छ । यो पश्चाताप अल्लाहबाट माफी पाउनका लागि हो र अल्लाह सर्वज्ञानी र बडो बुद्धिमत्ता सम्पन्न छ ।

Verse 93 — Surah An-Nisa 4:93

यदि कुनै मानिस जानी बुझिकन कुनै मुसलमानलाई मारिदिन्छ भने उसको सजाय नर्क हो । जहाँ ऊ सधैं बास पाउने छ र अल्लाहको क्रोध र अभिशापको पात्र हुनेछ र यस्तो मानिसको लागि उसले कठोर सजाय तयार राखेको छ ।

Verse 94 — Surah An-Nisa 4:94

हे मोमिनहरू ! जब तिमी अल्लाहको मार्गमा (जिहादको लागि) जान्छौ त बडो छानविनले काम गर्ने गर र जुन मानिसले तिमीसित अस्सालमुअलैकुम भन्दछ उसलाई तिमी मोमिन होइनौ भनि नभन । र, जसबाट तिम्रो उद्देश्य सांसारिक लाभ प्राप्त गर्नु छ भने अल्लाहसित यस्ता फाइदाका सामग्रीहरू थुप्रै छन् । तिमी पनि त पहिला यस्तै थियौ र पछि अल्लाहले तिमीमाथि आफ्नो कृपा गर्याे । तसर्थ तिमी राम्ररी छानबिन गर्ने गर । निःसन्देह जुन कर्महरू तिमीले गर्दछौ, सबै अल्लाहलाई थाहा छ ।

Verse 95 — Surah An-Nisa 4:95

अल्लाहको मार्गमा आफ्ना सम्पत्ति र ज्यानले युद्ध गर्ने मोमिन र बिना उचित कारण बसिरहने मोमिन एक समान हुन सक्दैनन् । अल्लाहले, आफ्ना ज्यान र मालसित युद्ध गर्ने मोमिनलाई त्यसै बसिराख्ने माथि धेरै श्रेष्ठता प्रदान गरेको छ, यद्यपि अल्लाहले सबै मोमिनलाई राम्रो स्थानको वचन दिएको छ तर ठूलो पुरस्कारको दृष्टिकोणले अल्लाहले जिहाद गर्नेहरूलाई, बसिराख्नेमाथि महानता प्रदान गरेको छ ।

Verse 96 — Surah An-Nisa 4:96

(अर्थात) आफ्नो तर्फबाट प्रदान गरिएका दर्जा पनि, पुरस्कार पनि र कृपा पनि छ र अल्लाह क्षमादाता दयालु छ ।

Verse 97 — Surah An-Nisa 4:97

जुन मानिस आफूमाथि अत्याचार गर्नेवाला छन्, जब तिनका प्राण निकाल्ने बेलामा फरिश्ताहरूले सोध्छन् तिमी कुन अवस्थामा थियौ त भन्दछन् कि हामी आफ्नो ठाउँमा कमजोर र असहाय अवस्थामा थियौं । (अनि) फरिश्ताहरूले सोध्छन् कि त्यहाँबाट बसाई सर्न के अल्लाहको धरती फराकिलो थिएन ? त्यस्ता मानिसहरूको बासस्थान नर्क हुनेछ, र त्यो जानु पर्ने अति नराम्रो ठाउँ हो ।

Verse 98 — Surah An-Nisa 4:98

तर ती पुरुष, र स्त्री र केटाकेटीहरू बाहेक जो साँच्चै कमजोर र अशक्त छन्, जोसँग न त कुनै साधन छ, न त कुनै जाने बाटोको ज्ञान ।

Verse 99 — Surah An-Nisa 4:99

धेरै सम्भव छ कि यस्तालाई अल्लाहले क्षमा गरिदेओस्, अल्लाह क्षमादाता (र) माफी प्रदान गर्नेवाला छ ।

Verse 100 — Surah An-Nisa 4:100

जुन मानिस आफ्नो घरबार छाडि अल्लाहको बाटोमा लाग्छ उसले धर्तीमा शरणको निम्ति प्रशस्त ठाउँ र जीविका पनि पाउने छ र जुन मानिस आफ्नो घर छाडि अल्लाह र त्यसको रसूलको मार्गमा लाग्नेछ, यदि उसको मृत्यु प्रवासमा हुन्छ भने त्यसको पुरस्कार पनि अल्लाह छेउ निश्चित भइहाल्यो र अल्लाह बडो क्षमा प्रदान गर्नेवाला दयालु छ ।

Verse 101 — Surah An-Nisa 4:101

जब तिमी (घर छाडि) यात्राको निम्ति बाहिर जान्छौ त त्यसबेला नमाजमा कमी (कस्र) गरी पढे पनि कुनै गुनाह छैन, यदि तिमीलाई डर छ कि तिमीलाई काफिरबाट दुःख दिइनेछ निःसन्देह काफिरहरू तिम्रो खुल्लमखुल्ला शत्रु हुन् ।

Verse 102 — Surah An-Nisa 4:102

जब तिमी तिनीहरूमा हुन्छौ र तिनीहरूलाई नमाज पढाउँदछौ भने, यो आवश्यक छ कि एउटा समूह तिम्रो साथमा हतियार सहित उभिराखोस् जब यस समूहले ढोग गरिसकोस् तब त्यहाँबाट हटेर तिम्रो पछाडी आओस् र अर्को समूह जसले नमाज पढेको छैन, त्यस ठाउँमा आओस् र (सतर्क र सशस्त्र भई) तिम्रो साथमा नमाज पढोस् । काफिरहरू चाहन्छन् कि कुनै प्रकारले तिमी आफ्नो हतियार र सामानहरूप्रति अलिकति पनि असावधान होउ, अनि तिनीहरूले तिमीमाथि एक्कासि आक्रमण गरुन् । हो, यदि तिमी वर्षाको कारण कुनै कष्टमा वा विरामी छौ भने आफूसँग भएको हतियार नबोक्नुमा कुनै गुनाह छैन, तर आफ्नो सुरक्षाको सामान साथमा राख्नु । निश्चय नै अल्लाहले काफिरहरूको निम्ति तिरस्कारपूर्ण दण्ड तयार गरेको छ ।

Verse 103 — Surah An-Nisa 4:103

तिमीले नमाज पढिसकेपछि उठ्दा, बस्दा र पल्टदा प्रत्येक अवस्थामा अल्लाहलाई याद गर्ने गर । फेरि जब संतुष्ट होऊ तब नमाज पढ्दै गर । निःसन्देह मोमिनहरूलाई निर्धारित समयमा नमाज पढ्नु अनिवार्य छ ।

Verse 104 — Surah An-Nisa 4:104

उनीहरूलाई पछ्याउनबाट हार मानेर नबस्नु । यदि तिमीलाई कुनै कष्ट हुन्छ भने त्यस्ता कष्टहरू तिनीहरूलाई पनि हुन्छ, तर तिमीलाई अल्लाहबाट यस्ता आशाहरू छन्, जुनकि तिनीहरूलाई छैन । र अल्लाह सबै कुराको ज्ञाता र कौशल सम्पन्न छ ।

Verse 105 — Surah An-Nisa 4:105

निःसन्देह हामीले तिमीलाई सत्यताको साथ आफ्नो किताब पठाएका छौं, ताकि अल्लाहले तिमीलाई दिएको ज्ञान अनुसार तिमी मानिसहरूका मुद्दाको निसाफ गर्न सक र धोकेबाजहरूको समर्थन नगर्नु ।

Verse 106 — Surah An-Nisa 4:106

र अल्लाहसँग क्षमाको लागि प्रार्थना गर । निःसन्देह अल्लाह क्षमादाता, अत्यन्त दयालु छ ।

Verse 107 — Surah An-Nisa 4:107

र जुन मानिस आफूबाटै कपट राख्दछन्, त्यस्ताको तर्फबाट विवाद नगर्नु, किनभने अल्लाहले कपट गर्ने र बेईमानहरूलाई प्रेम गर्दैन ।

Verse 108 — Surah An-Nisa 4:108

तिनीहरू मानिसहरूबाट त लुक्न सक्दछन् तर अल्लाहबाट लुक्न सक्दैनन् । जब यिनीहरू रातिराति आपसमा ती कुराहरूबारे छलफल गर्दछन्, जसलाई अल्लाहले रुचाउँदैनन् । त्यतिखेर पनि अल्लाह यिनीहरूको नजीक हुने गर्दछ । अल्लाहले यिनीहरूका सम्पूर्ण क्रियाकलापलाई आफ्नो घेरामा राखेको छ ।

Verse 109 — Surah An-Nisa 4:109

हो तिमी त्यही नै हौ जसले सांसारिक जीवनमा त तिनीहरूको पक्ष लियौ, तर कियामतको दिन (प्रलयको दिन) तिनीहरूको तर्फबाट अल्लाहसँग कसले पक्ष लिने छ ? र त्यो को हो जसले तिनीहरूको वकालत गर्न सकोस्

Verse 110 — Surah An-Nisa 4:110

जुन मानिसले कुनै गुनाह गर्छ वा आफूलाई नै नराम्रो हुने कुनै काम गर्दछ र पछि अल्लाहसँग क्षमा माँग्दछ भने त्यसले अल्लाहलाई क्षमादाता दयालु पाउनेछ ।

Verse 111 — Surah An-Nisa 4:111

र यदि कसैले गुनाह गर्दछ भने त्यसको भारी उसैमाथि छ र अल्लाह सर्वज्ञाता र सर्वबुद्धि सम्पन्न छ ।

Verse 112 — Surah An-Nisa 4:112

र जुन मानिसले कुनै गल्ती वा पाप गरेर त्यसको आरोप कुनै निर्दोषमाथि थोपार्दछ, उसले खुला गुनाह र झूठो आरोपको भारी आफ्नै टाउकोमा बोकिहाल्यो ।

Verse 113 — Surah An-Nisa 4:113

यदि तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए, तिनीहरूमध्ये एउटा समूहले तिमीलाई मार्गबाट विचलित गराउन प्रण नै गरिसकेको थियो तर वास्तवमा तिनीहरू आफूलाई नै कुबाटोमा लगाइरहेका छन् । र यिनीहरूले तिम्रो केही पनि बिगार्न सक्दैनन् । अल्लाह तिमीलाई ग्रन्थ र बुद्धिमत्ता प्रदान गर्याे र तिमीलाई ती कुराहरूको ज्ञान दियो जुनकि तिमीलाई थाहा थिएन र तिमीमाथि अल्लाहको ठूलो कृपा छ ।

Verse 114 — Surah An-Nisa 4:114

तिनीहरूका धेरै जसो गोप्य छलफलमा भलाई छैन । तर हो, त्यस मानिसको सरसल्लाहमा छ, जसले दान वा असल काम वा आपसमा मेलमिलापको कुरा गर्दछ, जसले अल्लाहको प्रसन्ताको लागि यो काम गर्दछ भने हामीले त्यसलाई ठूलो पुरस्कार प्रदान गर्ने छौं ।

Verse 115 — Surah An-Nisa 4:115

यदि कुनै मानिस सही बाटो थाहा पाइसकेपछि पनि रसूलको विरोध गर्दछ र अन्य मोमिनहरूको बाटो छाडि आर्को बाटोमा लाग्दछ भने हामीले त्यसलाई सोही बाटोमा छाडिदिन्छौं, र त्यसलाई जहन्नममा हाल्नेछौं र त्यो जानु पर्ने अति नै नराम्रो ठाउँ हो ।

Verse 116 — Surah An-Nisa 4:116

अल्लाहले उसलाई क्षमा गर्दैन जसले कसैलाई अल्लाहको साझेदार बनाउँछ तर यस बाहेक अन्य जस पापलाई चाहन्छ, क्षमा गर्नेछ र जसले कसैलाई अल्लाहको साझेदार ठह्रायो, त्यसले आफ्नो सही बाटो छाडि धेरै कुबाटोमा लागिसकेको हुन्छ ।

Verse 117 — Surah An-Nisa 4:117

यिनीहरूले त अल्लाहलाई छोडेर स्त्रीहरूलाई पुकार्दछन् र वास्तवमा यिनीहरू उदण्ड शैतानलाई मात्र पूज्दछन् ।

Verse 118 — Surah An-Nisa 4:118

र अल्लाहले त्यसलाई धिक्कृत गर्याे तर उसले अल्लाहका सेवकहरूमध्येबाट एउटा निश्चित भाग लिने कम्मर कसेको छ ।

Verse 119 — Surah An-Nisa 4:119

र (शैतानले भन्दछ) तिनीहरूलाई सही बाटोबाट विचलित गराइरहने छु र अनुचित आशा दिलाइरहने छु र तिनलाई सिकाउने छु कि जनावरहरूको कान चिर्ने गर र भन्ने गर्दछु कि अल्लाहबाट रचना गरिएको रूपलाई बिगार्ने गर । हेर जसले अल्लाहलाई छाडि शैतानलाई आफ्नो मित्र बनाउँछ, त्यो खुलारूपमा हानिमा पर्नेछ ।

Verse 120 — Surah An-Nisa 4:120

त्यसले तिनीहरूलाई झूठो वचन दिंदैरहने छ र आशा दिलाइरहने छ । र शैतानले जे जति वचन तिनीहरूलाई दिन्छ, ती सबै धोका बाहेक अरु केही पनि होइन ।

Verse 121 — Surah An-Nisa 4:121

यस्ता मानिसहरूको बासस्थान जहन्नम (नर्क) हो र तिनीहरूले त्यहाँबाट कुनै मुक्तिको ठाउँ पाउँने छैनन् ।

Verse 122 — Surah An-Nisa 4:122

र जसले ईमान ल्याउँछन् र सत्कर्म गर्दछन्, तिनलाई हामीले ती स्वर्गमा प्रवेश दिनेछौं, जसमुनि नहरहरू बगिराखेका छन् । यिनी सधैं त्यसैमा रहनेछन् । यो अल्लाहको सत्य वाचा हो र अल्लाहभन्दा वचनको पक्का को हुनसक्दछ

Verse 123 — Surah An-Nisa 4:123

वास्तविक स्थिति न त तिम्रो इच्छा अनुसार हुन्छ, न त अहले–किताबको इच्छामा निर्भर हुन्छ । जसले नराम्रो कर्म गर्नेछ, त्यसले सोही अनुसारको दण्ड पाउने छ र उसले कसैलाई पाउने छैन जसले अल्लाह समक्ष उसको सिफारिश वा मद्दत गर्न सकोस् ।

Verse 124 — Surah An-Nisa 4:124

जसले सद्कर्म गर्दछ, चाहे त्यो पुरुष होस् वा स्त्री, ईमान भएको छ भने यस्ता मानिसहरूले जन्नतमा (स्वर्गमा) प्रवेश पाउने छन् र तिनीहरूप्रति खजूरको गुठलीको फाँक बराबर (अलिकति) पनि अन्याय गरिने छैन ।

Verse 125 — Surah An-Nisa 4:125

त्यो मानिसभन्दा राम्रो कसको धर्म हुन सक्दछ जसले अल्लाहको आदेश स्वीकार गर्दछ र सद्कर्म पनि गर्दछ र साथै इब्राहीम (अलैहिस्सलाम)को धर्मको पनि अनुपालन गर्दछ जुन एकेश्वरवादी हुनु हुन्थियो अल्लाहले इब्राहीमलाई आफ्नो मित्र बनाएको छ ।

Verse 126 — Surah An-Nisa 4:126

आकाशहरू र पृथ्वीमा जे जति छ सबै अल्लाहको हो र सम्पूर्ण ब्रह्माण्ड उसैको घेरामा छ ।

Verse 127 — Surah An-Nisa 4:127

तपाईसँग स्त्रीहरूको बारेमा आदेश माँग्दछन्, भनिदिनुस् कि अल्लाह आफैले तिनीहरूको सम्बन्धमा आदेश दिइरहेको छ र कुरआनका जो आयतहरू जुन अनाथ स्त्रीहरूको बारेमा छ, जसलाई तिमीले तिनले पाउनु पर्ने हक (मेहर) दिदैनौ र तिनीहरूसँग निकाह गरिहाल्ने इच्छा राख्दछौ र साथै निःसहाय केटाकेटीहरूको बारेमा र अनाथहरूको साथ न्यायपूर्ण व्यवहार गर्ने गर । तिमीले जे जति उपकारको काम गर्दछौ, त्यो सबै अल्लाहलाई थाहा छ ।

Verse 128 — Surah An-Nisa 4:128

यदि कुनै स्त्रीलाई आफ्नो लोग्नेबाट अन्याय वा लापरवाहीको भय छ भने लोग्ने स्वास्नीले आपसमा जे सम्झौता गर्दछन् दुवैलाई कुनै गुनाह छैन, समझ्दारी बहुत राम्रो कुरा हो । सबै मानिसको मनमा लोभ प्रवृत्ति भरिएको छ । यदि तिमी असल व्यवहार र आत्मसंयमी बन्दछौ भने अल्लाहलाई तिम्रा सम्पूर्ण क्रियाकलापबारे थाहा छ ।

Verse 129 — Surah An-Nisa 4:129

तिमीबाट यो सम्भव छैन कि आफ्ना सबै स्वास्नीहरूसित चाहँदा चाहँदै पनि समान रूपले न्याय गर्न सक, तसर्थ एउटैतिर ढल्केर अर्कोलाई अधकल्चोमा नछोडने गर र यदि तिमी सुधार गर्दछौ र आत्मसंयमी बन्दछौ भने अल्लाह निश्चय नै ठूलो क्षमादाता र दयावान छ ।

Verse 130 — Surah An-Nisa 4:130

यदि लोग्ने र स्वास्नी एक अर्काबाट छुटिन्छन् भने अल्लाहले प्रत्येकलाई आफ्नो अति दानशीलताले प्रशस्त साधन प्रदान गर्नेछ र अल्लाह अति उदारकर्ता र बुद्धिमत्ता सम्पन्न छ ।

Verse 131 — Surah An-Nisa 4:131

आकाशहरू र धरतीका सबै वस्तु अल्लाहकै सम्पत्ति हुन् र वास्तवमा जसलाई तिमीभन्दा अगाडि ग्रन्थ प्रदान गरिएको थियो, तिनीहरूलाई र तिमीलाई पनि यही आदेश गरिएको छ कि अल्लाहसित डर मान्ने गर ? र यदि मान्दैनौ भने (यादराख कि) जे जति आकाशहरूमा र पृथ्वीमा छ, सबै अल्लाहकै हो । र अल्लाह सबै आवश्यकताहरूबाट मुक्त र सम्पूर्ण प्रशंसित छ ।

Verse 132 — Surah An-Nisa 4:132

जे जति आकाशहरूमा र पृथ्वीमा छन्, सबै अल्लाहकै अधीनमा छन् र सम्पूर्ण कार्य सम्पन्नताको लागि अल्लाह नै पर्याप्त छ ।

Verse 133 — Surah An-Nisa 4:133

हे मानिसहरू ! अल्लाहले चाहेको खण्डमा तिमीहरू सबैलाई समाप्त गर्न सक्दछ । र अरु मानिसहरूलाई सृष्टि गरी ल्याउन सक्दछ र अल्लाह यस कुरामा सर्वशक्ति सम्पन्न छ ।

Verse 134 — Surah An-Nisa 4:134

यदि कुनै मानिस संसारिक लाभ प्राप्त गर्न चाहन्छ, भने अल्लाहसित संसार र परलोक (दुवै) को लागि पुरस्कार तयार छ । र अल्लाह धेरै सुन्ने र देख्नेवाला हो ।

Verse 135 — Surah An-Nisa 4:135

हे मोमिनहरू ! न्यायमा ढृदताका साथ कायम रहनेवालाहरू र अल्लाहको प्रसन्नताको लागि साँचो गवाही दिनेवाला बन । त्यो तिम्रो वा तिम्रो आमा–बुवा वा नातेदारहरूको विरुद्ध नै किन नहोस् । त्यो मानिस चाहे धनी होस् अथवा निर्धन, अल्लाह दुवैको हितैषी छ । तसर्थ तिमीले आफ्नै स्वार्थको पछि लागि न्यायलाई नछाडिदिनु । यदि तिमीले कुरा बङ्ग्याएर गवाही दिन्छौ वा साक्षी दिनुबाट पन्छिन्छौ भने (यादराख) अल्लाह तिम्रो सबै क्रियाकलाप राम्ररी जान्दछ ।

Verse 136 — Surah An-Nisa 4:136

हे मोमिनहरू ! अल्लाहमाथि र उसको रसूलमाथि र जुन ग्रन्थ अल्लाहले आफ्नो पैगम्बरलाई प्रदान गरेको छ, र त्यसमाथि जुन ग्रन्थहरू त्यसभन्दा अगाडि उतारेको थियो, सबैमाथि आस्था राख । र जसले अल्लाह र फरिश्ताहरू र उसका ग्रन्थहरू र उसका पैगम्बरहरू र अंतिम दिनको इनकार गर्दछ ऊ पथभ्रष्ट भई वास्तविक मार्गबाट धेरै टाढा पुगिसकेको हुन्छ ।

Verse 137 — Surah An-Nisa 4:137

जुन मानिसहरूले मुसलमान भएर फेरि काफिर भए, फेरि मुसलमान भए अनि फेरि काफिर भए फेरि अनास्थातर्फ बढदै गए त्यस्तालाई अल्लाहले न क्षमा गर्ने छ न त सही बाटो देखाउने छ ।

Verse 138 — Surah An-Nisa 4:138

कपटीहरूलाई यसबारे समाचार सुनाइदिनु कि तिनीहरूको निम्ति कष्टदायक सजाय निश्चित छ ।

Verse 139 — Surah An-Nisa 4:139

जसले मोमिनहरूलाई छाडि काफिरहरूलाई मित्र बनाउने गर्दछन् । के तिनीहरूकहाँ सम्मान प्राप्ति गर्न जान्छन ? सम्पूर्ण सम्मान त अल्लाहकै नियन्त्रणमा छ ।

Verse 140 — Surah An-Nisa 4:140

र अल्लाहले तिमीलाई प्रदान गरेको ग्रन्थमा आदेश गरिसकेको छ कि जब तिमी कुनै सभा वा बैठकमा अल्लाहका आयतहरूलाई अस्वीकार गरिराखेको वा तिनको उपहास गरिराखेको सुन, तब त्यस सभामा तिनीहरूको साथमा नबस, जबसम्म तिनीहरू अर्को कुरा गर्न थाल्दैनन् । (अन्यथा) तिमी पनि त्यसबेला तिनीहरू जस्तै भइहाल्नेछौ । यसमा कुनै सन्देह छैन कि अल्लाह सबै मुनाफिक र काफिरहरूलाई नर्कमा एकत्रित गर्नेछ ।

Verse 141 — Surah An-Nisa 4:141

यिनीहरूले तिम्रो परिणाम हेरिराखेका हुन्छन्, फेरि यदि अल्लाहको तर्फबाट तिमीलाई विजय प्राप्त हुन्छ भने तिनीहरू भन्दछन कि के हामी तिम्रो साथमा थिएनौ । र यदि काफिरहरूलाई अलिकति वर्चस्व प्राप्त हुन्छ भने तिनीहरूसित भन्दछन् कि के हामीले जीत प्राप्त गर्न लागेका थिएनौ र के तिमीहरूलाई हामीले मुसलमानहरूबाट बचाएका थिएनौ ? तर अल्लाह तिनीहरूको निर्णय कियामतको दिन गर्ने छ । र अल्लाहले कहिल्यै पनि मुसलमानहरूमाथि काफिरहरूलाई विजय प्रदान गर्नेछैन ।

Verse 142 — Surah An-Nisa 4:142

मुनाफिक (कप्टीहरू) अल्लाहलाई झुक्याउन खोज्छन् तर उसले तिनीहरूलाई यस झुक्यानको बदला दिनेछ । र जब नमाज पढ्न उभिन्छन् त्यतिखेर अल्छी भई उभिन्छन् अरुलाई देखाउनको लागि मात्र गर्दछन्, र अल्लाहलाई नाममात्रका लागि स्मरण गर्दछन् ।

Verse 143 — Surah An-Nisa 4:143

तिनीहरू बीचमा परी झुण्डिराखेका छन् न तिनीहरूतिर पूरै हुन्छन् न यिनीहरूतिर, र जसलाई अल्लाहले मार्गबाट विचलित गर्दछ त्यसको निम्ति तिमीले कहिल्यै बाटो पाउँदैनौ ।

Verse 144 — Surah An-Nisa 4:144

हे इमानवालाहरू ! मुसलमानहरूलाई छाडि काफिरहरूलाई आफ्ना मित्र नबनाऊ । के तिमी खुल्लारूपमा अल्लाहको दोषी बन्न चाहन्छौ

Verse 145 — Surah An-Nisa 4:145

यसमा कुनै सन्देह छैन कि मुनाफिकहरू दोजखको (नर्कको) सबैभन्दा तल्लो भागमा ठाउँ पाउनेछन् । र तिमीले कसैलाई तिनीहरूको सहायता गरेको पाउने असम्भव छ ।

Verse 146 — Surah An-Nisa 4:146

हो जसले पश्चाताप गरिहाले र आफ्नो अवस्थामा सुधार गरे र अल्लाहमाथि पूरै विश्वास गरे र खास अल्लाहकै लागि संसारमा धार्मिक कर्म गर्दछन् भने त्यस्ता मानिसहरू मोमिनहरूको साथमा हुनेछन् । र अल्लाहले मोमिनहरूलाई ठूलो पुरस्कार प्रदान गर्नेछ ।

Verse 147 — Surah An-Nisa 4:147

यदि तिमी अल्लाहप्रति कृतज्ञ हुन्छौ र त्यसमा विश्वास गर्दछौ भने तिमीलाई अल्लाहले किन सजाय दिने छ ? र अल्लाह ठूलो गुणपारखी र परम् ज्ञानी छ ।

Verse 148 — Surah An-Nisa 4:148

अन्याय भएको व्यक्ति बाहेक अरु (कसै) लाई नराम्रो कार्यको समर्थनमा आवाज उठाउनु अल्लाह मनपराउँदैनन् । र अल्लाह राम्ररी सुनने र जाननेवाला छ ।

Verse 149 — Surah An-Nisa 4:149

चाहे तिमीहरू राम्रो काम खुलमखुल्ला वा छिपाएर गर अथवा नराम्रो कामलाई क्षमा गर्दछौ त निःसन्देह अल्लाह ठूलो क्षमा दाता, अति शक्तिशाली छ ।

Verse 150 — Surah An-Nisa 4:150

जुन मानिसहरूले अल्लाह र उसका पैगम्बरहरूलाई इन्कार गर्दछन् र अल्लाह र उसको पैगम्बरहरूबीच विभाजन गर्न चाहन्छन् र भन्दछन् कि हामीले केही नबीहरूलाई मान्दछौं र केहीलाई मान्दैनौं र ईमान र कुफ्रको बीचमा एउटा बाटो निकाल्न चाहन्छन् ।

Verse 151 — Surah An-Nisa 4:151

उनीहरू निःसन्देह काफिर हुन् र काफिरहरूको लागि हामीले अपमानित सजाय तयार गरिसकेका छौं ।

Verse 152 — Surah An-Nisa 4:152

र जुन मानिसहरू अल्लाह र उसका सबै पैगम्बरहरूमाथि विश्वास राख्दछन् र तिनीहरूमा कुनै भेदभाव गर्दैनन्, यिनीहरू नै ती मानिस हुन जसलाई अल्लाहले छिटै तिनीहरूको (राम्रो कर्मको) फल प्रदान गर्ने छ र अल्लाह क्षमादाता र दयावान छ ।

Verse 153 — Surah An-Nisa 4:153

(हे मुहम्मद) तपाईसित ‘‘अहले किताब’’ (यहूदी–ईसाई) माँग गर्दछन् कि तपाईले तिनीहरूका लागि आकाशबाट कुनै ग्रन्थ प्रदान गराउनुस् । यिनीहरू त मूसा (पैगम्बर)सँग यो भन्दा ठूला ठूला माँग गरेका थिए, कि अल्लाहलाई हाम्रो सामु ल्याऊ (अर्थात हाम्रो आँखाको अगाडि ल्याई प्रत्यक्ष देखाऊ) तसर्थ तिनीहरूको यस अत्याचारको कारण तिनीहरूमाथि ठूलो चट्याङ्ग खस्यो । अनि स्पष्टरूपले निशानीहरू आए पछि पनि तिनीहरू बाछोलाई आफ्नो पूज्य बनाए तर हामीले तिनीहरूलाई क्षमा गर्यौं र मूसालाई प्रत्यक्ष प्रमाणसहित अधिकार प्रदान गर्यौं ।

Verse 154 — Surah An-Nisa 4:154

र तिनीहरूसित वाचा लिदैं हामीले तिनीहरू सामुन्ने तूर पर्वतलाई खड़ा गर्यौं र तिनीहरूलाई आदेश गर्यौं कि ढोकाभित्र ढोगदै प्रवेश गर र यो पनि आदेश दिऔं कि शनिवारको दिन आदेशको उल्लंघन नगर र तिनीहरूबाट हामीले दृढ प्रतिज्ञा लिऔं ।

Verse 155 — Surah An-Nisa 4:155

यो सजाय पनि तिनीहरूको वचन भंग गर्नाले र अल्लाहका आयतहरूबाट इन्कार गर्नाले र नबीहरूको (अल्लाहकादूतको) अवज्ञा गरी बिना कारण हत्या गर्नाले र यो भन्नाले कि हाम्रो हृदय आवरणले ढाकिएका छन्, अपितु उनीहरूको कुफ्र (अवज्ञा) को कारण तिनीहरूको हृदयलाई अल्लाहले मोहरबन्द गरिदिएका छन त्यस कारण तिनीहरूले कमै ईमान ल्याउँछन् ।

Verse 156 — Surah An-Nisa 4:156

र तिनीहरूको नास्तिकतालेगर्दा र मरियममाथि गम्भीर दोषारोपणको कारणले पनि ।

Verse 157 — Surah An-Nisa 4:157

र यो भन्नाको कारणले कि हामीले मरियमको छोरा अल्लाहको रसूल ईसा मसीहलाई हत्या गरिसकेका छौं जबकि न तिनीहरूले ईसाको हत्या गरे न त उनलाई सूलीमा चढाए बरु तिनीहरूलाई उनीकै (ईसा मसीह) रूप जस्तो प्रतीत हुने आकार बनाइएको थियो । विश्वास गर जुन मानिसहरू उनको सम्बन्धमा मतभेद गर्दछन् तिनीहरू उनको वास्तविक स्थितिबारे शंकामा परेका छन् र भ्रम बाहेक तिनीहरूलाई अरु कुनै ज्ञान छैन, र तिनीहरूले निःसन्देह ईसाको हत्या गर्न सकेनन् ।

Verse 158 — Surah An-Nisa 4:158

बरु अल्लाहले उनलाई आफूतिर उठाई लग्यो र अल्लाह सर्वशक्तिशाली तत्वदर्शी हो ।

Verse 159 — Surah An-Nisa 4:159

र ‘‘अहले किताबमध्ये कोही बाँकी रहनेछैन जसले हजरत ईसाको मुत्युभन्दा अगाडि नै उनीमाथि विश्वास’’ नगरोस् र कियामतको दिन उनी तिनीहरू विरुद्ध साक्षी हुनेछन् ।

Verse 160 — Surah An-Nisa 4:160

तसर्थ यहुदीहरूको अत्याचारको कारणले धेरै जसो वैध (हलाल) वस्तुहरूलाई तिनीहरूको निम्ति हराम (अवैध) बनाइदिऔं र यस कारणले पनि कि तिनीहरू धेरै मानिसहरूलाई अल्लाहको मार्गबाट रोकदैथे ।

Verse 161 — Surah An-Nisa 4:161

र यस कारणले पनि कि निषेधित गरिए तापनि सूद (व्याज) लिने गर्दथे र यस कारणले पनि कि अरुको धन–सम्पत्ति गलत तरिकाले खाइदिन्थे र तिनीहरूमध्ये जो काफिर छन्, तिनका निम्ति हामीले कष्ट दायक सजाय तयार गरिसकेका छौं ।

Verse 162 — Surah An-Nisa 4:162

तर तिनीहरूमध्ये जो राम्रो ज्ञानी छन् र जो मोमिन छन्, तिनीहरूले यस किताबमाथि जुन तपाईमाथि उतारियो र जुन किताब तपाईभन्दा पहिला उतारिए सबैमाथि आस्था राख्दछन् र नमाज पढ्दछन् र जकात (धर्मदाय) दिदाछन् र अल्लाह र कियामतको दिनमाथि आस्था राख्दछन्, तिनीहरूलाई हामीले (शीघ्र नै) ठूलो पुरस्कार प्रदान गर्नेछौं ।

Verse 163 — Surah An-Nisa 4:163

(हे मुहम्मद !) हामीले तपाईलाई त्यस्तै प्रकारले अल्लाहको सन्देश (वह्य) पठाएका छौं, जुन किसिमले नूह (अलैहिस्सलाम) र उनीभन्दा पछिका पैगम्बरहरूतर्फ पठायौं, र हामीले अल्लाहको सन्देश इब्राहीम (अलैहिस्सलाम) इस्माईल (अलैहिस्सलाम), इस्हाक (अलैहिस्सलाम), यअ्कूब (अलैहिस्सलाम) र उनका सन्तानहरूमाथि तथा ईसा (अलैहिस्सलाम), अय्यूब (अलैहिस्सलाम), यूनुस (अलैहिस्सलाम), हारून (अलैहिस्सलाम) र सुलैमानतर्फ पठायौं र हामीले दाऊद (अलैहिस्सलाम)लाई ‘‘जबूर’’ प्रदान गर्यौं ।

Verse 164 — Surah An-Nisa 4:164

र धेरै पैगम्बरहरू यस्ता छन् जसको बारेमा हामीले तपाईसित यसभन्दा अघि नै भनिसकेका छौं र धेरै यस्ता छन् जसको सम्बन्धमा तपाईलाई केही भनेका छैनौं । र मूसासित त अल्लाहले प्रत्यक्ष कुरा पनि गर्यो ।

Verse 165 — Surah An-Nisa 4:165

हामीले उनीलाई रसूल बनायौं । सुसमाचार सुनाउने र सावधानकर्ता ताकि पैगम्बरहरूको आगमनपछि मानिसहरूलाई अल्लाहमाथि दोष लगाउने मौका र विवाद नहोस् र अल्लाह सर्वशक्तिमान र तत्वदर्शी छ ।

Verse 166 — Surah An-Nisa 4:166

अल्लाहले जे जति तपाईतिर उतारेको छ उसको बारेमा स्वयम् गवाही दिन्छ कि उसले आफ्नो ज्ञानले उतारेको छ र फरिशताहरू पनि गवाही दिन्छन् र स्वयम् अल्लाह नै साक्षी पर्याप्त छ ।

Verse 167 — Surah An-Nisa 4:167

जसले कुफ्र गरे र (मानिसहरूलाई) अल्लाहको बाटोमा जानुबाट रोके, तिनीहरू आफै विचलित भई सही मार्गबाट धेरै पर पुगे ।

Verse 168 — Surah An-Nisa 4:168

जसले कुफ्र गरे र अन्याय गरिरहे, अल्लाहले निश्चय नै तिनलाई न क्षमा गर्नेछ न त तिनको मार्ग–दर्शन गर्नेछ ।

Verse 169 — Surah An-Nisa 4:169

हो, नर्कको बाटो, जसमा तिनीहरू सधैं सधैं रहनेछन् र अल्लाहको लागि यो सजिलो छ ।

Verse 170 — Surah An-Nisa 4:170

हे मानिसहरू ! अल्लाहको पैगम्बर तिमीहरूछेउ सत्य कुरा लिएर आएका छन् तसर्थ तिमीहरू ईमान ल्याऊ यही नै तिम्रो निम्ति हितकर छ । र यदि तिमी काफिर भयो भने (यादराख) कि जे जति आकाशहरूमा र जमिनमा छन् सबै अल्लाहकै हुन् । र अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छ ।

Verse 171 — Surah An-Nisa 4:171

हे अहले किताब ! (यहूदी–ईसाई) आफ्नो धर्मको सीमोल्लङघन नगर र अल्लाहको बारेमा सत्य बाहेक अरु केही नभन । मरियमका छोरा ईसा मसीह (न त अल्लाह थिए न अल्लाहका छोरा बरु) अल्लाहका रसूल मात्र र उसको पवित्र सन्देशवाहक मात्र थिए, जो अल्लाहको वाणीबाट सृष्टि भए जसलाई अल्लाहले मरियमलाई प्रदान गरेको थियो र उसको तर्फबाट पठाइएका एउटा रूह (आत्मा) थिए, तसर्थ तिमीहरूले अल्लाह र उसका सबै रसूलहरूमाथि आस्था राख र नभन कि अल्लाह तीनवटा छन् र यो धारणाबाट टाढा रह किनकि तिम्रो निम्ति यही नै राम्रो छ । अल्लाह एउटै मात्र पूजनीय छ र यस कुरासँग उसको कुनै सम्बन्ध छैन कि उसका सन्तान छन् । जे जति आकाशहरूमा र जमिनमा छन् सबै उसैको हुन् र अल्लाह नै संरक्षक स्वरूप पर्याप्त छ ।

Verse 172 — Surah An-Nisa 4:172

मसिहले अल्लाहको भक्त हुनुमा कदापि अपमान ठान्दैनन् र नत सान्निघ्य फरिशताहरूले उसको उपासनालाई आफ्नो अपमान ठान्छन् र जसले उसको उपासनालाई आफनो अपमान ठान्छन् र घमण्ड गर्छन अल्लाह उनी सबैलाई आफूनिर एकत्रित गर्नेछ ।

Verse 173 — Surah An-Nisa 4:173

यसर्थ जसले ईमान ल्याएका छन् र सत्कर्म गरेका छन्, उसले तिनलाई पूरा प्रतिफल प्रदान गर्नेछ र आफ्नो कृपाले अरु बढी नै प्रदान गर्नेछ र जसले अपमान ठाने र घमण्ड गरे, तिनलाई कष्टदायक सजाय दिनेछ र यिनीहरूले अल्लाह बाहेक कसैलाई आफ्नो समर्थक र सहयोगी पाउँने छैनन् ।

Verse 174 — Surah An-Nisa 4:174

हे मानिसहरू ! तिम्रो रबबाट तिम्रो पासमा स्पष्ट प्रमाण आइसकेको छ र हामीले तिमीतिर चम्किने प्रकाश पठाइसकेका छौं ।

Verse 175 — Surah An-Nisa 4:175

तसर्थ जसले अल्लाहमाथि आस्था राखे र उसलाई दृघतापुर्वक समातिराखे त त्यसले तिनलाई आफ्नो दया र कृपा छिटै प्रदान गर्नेछ र तिनलाई आफूतिर (पुग्नुको लागि) सोझो बाटो देखाउनेछ ।

Verse 176 — Surah An-Nisa 4:176

(हे पैगम्बर !) मानिसहरूले तपाईसँग कलालाको सम्बन्धमा (कलाला भनेको त्यो व्यक्ति हो जसको वारिसको रूपमा बाबू र सन्तान नहोउन) अल्लाहको आदेश जान्न खोज्दै छन् । भनिदिनुस् कि अल्लाह आफैले कलालाको सम्बन्धमा यो आदेश गर्दछ कि यदि कुनै यस्तो व्यक्तिको मृत्यु हुन्छ जसको कुनै सन्तान छैन र त्यसको एउटी बहिनी अथवा दिदी छिन् भने मृतकको सम्पत्तिबाट आधा भाग पाउने छिन्, र यदि तिनको मृत्यु हुन्छ र कुनै सन्तान छैन भने तिनको (मृतक दिदी अथवा बहिनी) वारिस तिनकै भाइ हुनेछ र यदि दाजु वा भाइको मृत्यु हुन्छ र उसका दुईटा बहिनी अथवा दिदी वा दिदी बहिनी छिन् भने ती दुवैले (मृतकले छाडेर गएको सम्पत्तिको) दुई तिहाई भागको हकवाला हुनेछिन् र यदि भाइ र बहिनी अर्थात लोग्ने मान्छे र स्वास्नी मानिसहरू वारिस छन् भने लोग्ने मानिसको भाग, स्वास्नी मानिसको भागको दुईगुणा हुनेछ । अल्लाहले (यी आदेशहरू) तिमीसित यस कारणले वर्णन गर्दछ कि तिमीले भूल गर्दै नहिंड र अल्लाह हरेक कुराको ज्ञाता छ ।